चितवनको रामपुरमा निर्माणधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माणस्थलमा लगाइएको जस्ताको बार भत्काउने नेकपाका स्थानीय नेता प्रकाश कँडेल पक्राउ परेका छन्।
प्रहरीले उनलाई गएराती नै पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखेको छ। घटनामा संलग्न अन्य १६ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। रंगशाला निर्माणस्थलमा लगाइएको बार कँडेल नेतृत्वको स्थानीयले भत्काएका हुन्। बुधबार बिहान डोजरसहित आएका ती व्यक्तिले जस्तापाताले लगाएको बार भत्काइदिएका हुन्। बार भत्काउने क्रममा उनीहरुले धुर्मस–सुन्तली फाउण्डेशनका कर्मचारीहरुलाई धम्कीसमेत दिएका थिए।
हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) ले गरिब जनताले रगत–पसिना खर्चिएर बनाउन लागेको क्रिकेट रंगशालाको कम्पाउण्ड वाल स्थानीयले डोजर चलाएर क्षत विक्षत तुल्याइदिएको गुनासो गरे। नेकपाका स्थानीय तहका नेता प्रकाश कँडेलको नेतृत्वमा सय–सवा सयको संख्यामा आएको जत्थाले रंगशाला छेक्न ठड्याएको जस्तापाता क्षत विक्षत तुल्याउँदै कर्मचारीलाई धम्की दिएको धुर्मुसले जानकारी दिए।
धुर्मुसका अनुसार आफ्नै आँगनअगाडि क्रिकेट रंगशाला बन्ने भएपछि स्थानीय उत्साहित थिए। र, धुर्मुस दम्पतीलाई घडा राखेर अबिरजात्रा गर्दै स्वागत गरेका थिए। तर, तिनै स्थानीय बुधबार एकाबिहानै डोजरसहित पर्खाल र तारजाली भत्काउन आएका देख्दा आफू मर्माहत भएको उनले बताए।
घटना पश्चात धुर्मुस–सुन्तली फाण्डेशनले सुरक्षाको कारण देखाउँदै तत्कालका लागि रंगशाला निर्माणको कार्य स्थगित समेत गरेको छ। फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले एक विज्ञप्ती जारी गर्दै काम गर्ने वातावरण नभएकाले काम स्थगित गरिएको जनाएका छन्। यस घटनाको चौतर्फी बिरोध समेत भईरहेको छ।