सशस्त्र प्रहरीको एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।
सोमबार भएको खेलमा सुदुरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गर्दै एपीएफले दोस्रो जित निकालेको हो । टियु क्रिकेट मैदानमा सुदुरपश्चिमले दिएको १२६ रनको सामान्य लक्ष्य एपीएफले ३४ ओभर ४ बलमा ७ विकेट गुमाएर पुरा गर्यो । एपीएफको जितमा कप्तान पृथु बास्कोटाले अविजित ३२ रन जोडे ।
यस्तै शरद भेषवाकरले २६, सन्दीप जोराले २२ रन जोड्दा सुमित महर्जनले १५ रन बनाए । सुदुरपश्चिमका बिनोद लामाले ३ तथा शेर मल्लले २ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले ३७ ओभर १ बलमा अलआउट हुँदै १२५ रन बनाएको थियो । सुदुरपश्चिमका लागि लोकेश बमले सर्वाधिक ३० रन बनाए । यस्तै विपिन रावलले २१, खडक बोहोराले १९ र रोशन अधिकारीले १६ रन बनाए । सुदुरपश्चिमका पाँच खेलाडी रन आउट भएका थिए ।
यस्तै नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल रहेको प्रदेश नम्बर ३ ले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।
मुलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा प्रदेश ३ ले प्रदेश ५ लाई ६ विकेटले पराजित गर्दै पहिलो जित निकालेको हो । प्रदेश नम्बर ५ ले दिएको १२३ रनको सामान्य लक्ष्य प्रदेश ३ ले २१ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । जितसंगै समूह ’ए’ को प्रदेश ३ ले २ खेलबाट २ अंक जोडेको छ । यसअघि पहिलो खेलमा प्रदेश ३ एपीएफसंग ४१ रनले पराजित भएको थियो ।