ह्वीलचेयर कप टी–२० क्रिकेटमा नेपालले अर्को पराजय बेहोरेको छ । अन्तिम खेलमा आज पाकिस्तानसँग १३० रनको भारी अन्तरले पराजित नेपाल यसअघि भारत र बंगलादेशसँग पनि पराजित भएको थियो । चार टोली सम्मिलित प्रतियोगितामा नेपाल तीन टिमसँग पराजित भएको हो । प्रतियोगितामा पाकिस्तान फाइनलमा पुगेको छ ।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले २० ओभरमा चार विकेट गुमाउँदै २६९ रनको विशाल योगफल तयार पारेको थियो । पाकिस्तानका लागि मोहम्मद लतिफले १४६ रनको योगदान दिए । २७० रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रनमा समेटियो । जितसँगै पाकिस्तानले ४ अंक बनाएको छ भने भारतको ६ अंक छ ।