इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताको उपाधि म्यानचेस्टर सिटीले जितेको छ। म्यानचेस्टर सिटीले आइतबार राति खेलिएको आफ्नो अन्तिम खेलमा तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी ब्राइटनलाई उसैको मैदानमा ४-१ गोलले हरायो।
उक्त जितसँगै म्यानचेस्टर सिटी प्रिमियर लिगको उपाधि जोगाउन सफल भयो। म्यानचेस्टर सिटी सन् २००९ पछि लगातार दुईपटक उपाधि जित्ने पहिलो टोली हो। उपाधि जोगाउन म्यानचेस्टर सिटीले अन्तिम खेल जित्नै पर्ने दबाब थियो।
उपाधिको होडमा रहेको लिभरपुलले पनि अन्तिम खेलमा जित हात पार्यो। तर, म्यानचेस्टर सिटीको जितसँगै लिभरपुलको उपाधि सपना चकनाचुर बन्न पुग्यो। लिभरपुलले आफ्नो अन्तिम खेलमा घरेलु मैदानको फाइदा उठाउँदै उल्भरह्याम्पटनलाई २-० गोलले हरायो। खेल सुरु भएको २७औं मिनेटमा पहिलो गोल खाएको म्यानचेस्टर सिटीले त्यसपछि खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो। ब्राइटनका लागि ग्लेन मुरेले पहिलो गोल गरेका थिए।
म्यानचेस्टर सिटीका लागि २८औं मिनेटमा सर्जियो एग्वेरोले जवाफी गोल गरे। ३८औं मिनेटमा आयमेरिक लापोर्टले म्यानचेस्टर सिटीको अग्रता दोब्बर बनाए। ६३औं मिनेटमा रियाद माहरेजले तेस्रो गोल गरे भने ७२औं मिनेटमा ईकी गुन्डोगनले चौथो गोल थपेका थिए। अर्को खेलमा लिभरपुलका लागि भने दुवै गोल साडियो मानेले गरेका थिए।
अन्तिम चरणको खेलको समाप्तिपछि म्यानचेस्टर सिटी (९८ अंक) पहिलो, लिभरपुल (९७ अंक) दोस्रो, चेल्सी (७२ अंक) तेस्रो र टोट्टनहाम (७१ अंक) चौथो हुँदै आगामी सिजनको च्याम्पियन्स लिगमा छनोट भए। पाँचौं भएको आर्सनल (७० अंक) र छैटौं भएको म्यानचेस्टर युनाइटेड (६६ अंक) भने आगामी सिजनको युरोपा लिगका लागि छनोट भए। कार्डिफ सिटी, फुलहाम र हडर्सफिल्ड टाउन रेलिगेसनमा परे ।
अन्तिम चरणको खेलमा आर्सनलले बर्नलीलाई उसैको मैदानमा ३-१ ले हरायो भने चेल्सीलाई लेस्टर सिटीले गोलरहित बराबरीमा रोक्यो। म्यानचेस्टर युनाइटेड भने कार्डिफ सिटीसँग उसैको मैदानमा २-० गोलले पराजित भयो। टोट्टनहाम भने घरेलु मैदानमा एभर्टनसँग २—२ गोलको बराबरीमा रोकियो।