इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि मुम्बई इन्डियन्सले जितेको छ। आइतबार राति हैदराबादमा भएको फाइनलमा चेन्नई सुपर किङ्सलाई एक रनले पराजित गर्दै मुम्बईले चौथो पटक उपाधि जितेको हो। २०औं ओभरको अन्तिम बलमा लासिथ मालिंगाले चेन्नईका शार्दुल ठाकुरलाई एलबीडब्लुको धरापमा पार्दै मुम्बईलाई रोमाञ्चक जित दिलाए।
टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ४९ रन बनायो। मुम्बईका काइरन पोलार्डले अविजित ४१ रन बनाए। क्विन्टन डी ककले २९, इसन किसनले २३, हार्दिक पान्ड्याले १६, कप्तान रोहित शर्मा र सूर्यकुमार यादवले समान १५/१५ रन जोडे। चेन्नईका दीपक चाहरले तीन तथा शार्दुल ठाकुर र इमरान ताहिरले दुई/दुई विकेट लिए।
एक सय ५० रनको लक्ष्य पछ्याएको चेन्नईका सेन वाटसनले ८० रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। फाप डु प्लेसिसले २६ र ड्वेन ब्राभोले १५ रन बनाए। मुम्बईका जसप्रित बुमराहले दुई तथा कुणाल पाड्या, लासिथ मालिंगा र राहुल चाहरले एक÷एक विकेट लिए।
आईपीएलको फाइनलमा मुम्बई र चेन्नईबीच भिडन्त भएको यो चौथो पटक हो। सन् २०१० मा भएको फाइनलमा चेन्नईले मुम्बईलाई हराएको थियो। त्यसपछि सन् २०१३ र सन् २०१५ मा भएको फाइनलमा मुम्बईले चेन्नईलाई हराउँदै उपाधि हात पारेको थियो।
प्रतियोगिताको १२औं संस्करणको फाइनल सकिनुअघि साविक विजेता चेन्नई र मुम्बई दुवैले तीन÷तीन पटक उपाधि जितेका थिए। यसैगरी सन् २००८ देखि सुरु भएको आईपीएलमा कोलकाता नाइट राइडर्सले दुई तथा राजस्थान रोयल्स, डेक्कन चार्जर्स र सनराइजस् हैदराबादले एक-एक पटक उपाधि चुमेका छन्।
यसपटक प्रतियोगिताको पहिलो क्वालिफायरमा चेन्नईलाई नै हराउँदै मुम्बई फाइनलमा पुगेको थियो। चेन्नईले भने दोस्रो क्वालिफायर खेलमा दिल्ली क्यापिटल्सलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो। यसपटक प्रतियोगिताको पहिलो हुने टोलीले २५ करोड भारतीय रुपैयाँ (४० करोड नेपाली रुपैयाँ) पुरस्कार हात पा¥यो।
यसैगरी दोस्रो हुने टोलीले १२ करोड ५० लाख भारतीय रुपैयाँ (२० करोड नेपाली रुपैयाँ) पुरस्कार प्राप्त ग¥यो। प्रतियोगितामा तेस्रो हुने टोली दिल्ली क्यापिटल्सले १० करोड ५० लाख भारतीय रुपैयाँ पुरस्कार पायो भने चौथो हुने टोली सनराइजर्स हैदराबादको भागमा आठ करोड ५० लाख भारतीय रुपैयाँ पुरस्कार पर्याे।