भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि भिडन्त आज हुँदैछ। उपाधिका लागि साविकको विजेता चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्स भिड्दै छन्।
हैदरावादस्थित राजिब गान्धी क्रिकेट स्टेडियममा हुने फाइनल खेल नेपाली समय अनुसार राती पाैने ९ बजे शुरु हुनेछ।
महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई र रोहित शर्माको कप्तानीमा रहेको मुम्बईबीचको उपाधि भिडन्त निकै रोमान्चक हुने अनुमान गरिएको छ। र,प्रतिस्पर्धाका लागि मैदान उत्रदा दुवै टोलीको लक्ष्य उपाधि जित्नु हुनेछ।
चेन्नई मुम्बईलाई पराजित गर्दै उपाधि रक्षाको लक्ष्यमा हुनेछ। तर,यस सिजन मुम्बईविरुद्ध चेन्नईले जित निकाल्न सकेको छैन।
अघिल्लो तीन भेटमा मुम्बईले चेन्नईलाई हराएको थियो।
यता, मुम्बई अघिल्ला तीन खेलको नतिजाले आत्मविश्वासका साथ मैदान उत्रनेछ। मुम्बई चेन्नईमाथि लगातार चौथो जित निकाल्दै उपाधि जित्न चाहन्छ।
मुम्बईले पहिलो क्वालिफायरमा चेन्नईलाई ६ विकेटले हराएर फाइनल यात्रा तय गरेको थियो। यता, चेन्नईले दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ४ विकेटले नै हराएर मुम्बईसंगको भेट पक्का गरेको हाे। दुवै टिमले तीन तीन पटक उपाधि जितेका छन्।