पाकिस्तान अन्तर्राष्ट्रिय सिरिजमा मिश्रित युगलमा स्वर्ण तथा नेपाल अन्तर्राष्ट्रिय सिरिजमा मिश्रित युगलमा रजत पदक हात पारेकी एपिएफकी शोभा गौचनलाई पराजित गर्दै प्रदेश १ की सीता राई अन्तिम चारमा स्थान पक्का गर्न सफल भएकी छिन् ।
नेपाल ब्याडमिन्टन संघको ११औं बरियतामा रहेकी सीताले ३ नम्बर बरियताकी शोभालाई २१-१७, २१-१५ ले पाखा लगाउन सफल भएकी हुन् । अब सीताले फाइनल प्रवेशका लागि नेपाल नम्बर १ सेनाकी नङ्शलदेवी तामाङको सामना गर्नेछिन् ।
सेनाकी नङ्शलले सेनाकै रञ्जना भट्टलाई २१-१८, २१-१२ ले पन्छाइन् । यस्तै अर्को खेलमा सेनाकी अनुमाया राईले उदियमान खेलाडीको रुपमा रहेकी एपिएफकी जेसिका गुरुङलाई २१-१६, २१-९ ले पाखा लगाउँदै सेनाकै रशिला महर्जनसँगको भेट पक्का गरिन् ।
जेशिकाले महिला टिम इभेन्ट्सको प्रतिस्पर्धामा नेपाल नम्बर एक खेलाडी नङ्शललाई पराजित गरेकी थिइन् । रशिलाले प्रदेश १ की सीमा राजवंशीलाई २१-१४, २१-११ ले पराजित गरिन् । पुरुष एकलतर्फ सेनाका नम्बर १ खेलाडी रत्नजित तामाङ आफ्नो उपाधी रक्षातर्फ अग्रसर भएका छन् ।
उपाधिका नजिक पुग्ने क्रममा उनले नेपाल पुलिसका जीवन आचार्यलाई २१-१०, २१-११ ले पराजित गरे । अब रत्नले फाइनल प्रवेशका लागि प्रदेश १ का प्रिन्स दाहालसँग प्रतिस्पर्धा गर्नेछन् । प्रिन्सले पुरुष टिम प्रतिस्पर्धाको पुरुष एकलतर्फ रत्नलाई पराजित गरेका थिए ।
प्रिन्सले सेनाका प्रफुल महर्जनलाई २१-१०, २१-१० ले पन्छाउँदै रत्नसँगको भेट पक्का गरेका हुन् । यस्तै गरी पूर्व नेपाल १ विकास श्रेष्ठले सेनाका नवीन श्रेष्ठलाई २१-१५, १५ -२१, २१- १६ ले पन्छाउँदै अन्तिम ४ को यात्रा तय गरे । अब फाइनल प्रवेशका लागि विकासले सुदूरपश्चिमका दीपेश धामीसँग प्रतिस्पर्धा गर्ने भएका छन् ।
दीपेशले पुलिसका दीपक बोहरालाई २१ -१७, २१ -१५ ले पन्छाउँदै सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । दाङको घोराहीस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला युगलतर्फ सेनाका नङ्शलदेवी तामाङ र अनुमाया राईको जोडी तथा अमिता गिरी र रशिला महर्जनको जोडी पनि सेमिफाइनलमा प्रवेश गरेका छन् ।
तामाङ र राईको जोडीले कर्णाली प्रदेशका पुष्पा शाही र सामना भट्टराईको जोडीलाई २१-१०, २१-१० को सोझो सेटमा पराजित गरे । यस्तै गिरी र महर्जनको जोडीले प्रदेश ३ का तारा आले र मनीषा खड्काको जोडीबाट वाक ओभर प्राप्त गरे ।
यस्तै सेमिफाइनल प्रवेश गर्ने क्रममा प्रदेश १ का सीता राई र सीमा राजवंशीको जोडीले प्रदेश ३ का महिमा श्रेष्ठ र सफी खत्रीको जोडीलाई २५-५, २५-३ ले तथा एपीएफका पूजा श्रेष्ठ र जेशिका गुरुङको जोडीले सेनाका लोक्तमा राई र रञ्जना भट्टको जोडीलाई २१-१२, २१- १२ ले पाखा लगाए ।