आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरामा पहिलो पटक प्याराग्लाइडिङ हुुदैछ। आजदेखि शुरु हुने प्रतियोगितामा २० वर्ष इतिहास बोकेको नेपालको प्याराग्लाइडिङ खेलले पहिलो पटक राष्ट्रिय खेलमा प्रबेश पाएको हो।
प्रतियोगितामा सहभागी हुन ५९ जना खेलाडी पोखरा आइपुगेको नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ (नेफा) का महासचिब शैलेन्द्र राउतले जानकारी दिए।
प्रतियोगितामा प्रदेश १ बाट २ महिला सहित १० पुरुष, प्रदेश ३ बाट १ महिला र १० पुरुष, गण्डकी प्रदेशबाट ४ महिला र १० पुरुष, कर्णाली प्रदेशबाट ४ पुरुष, प्रदेश ७ बाट ४ पुरुष र नेपाली सेनाको त्रिभुबन क्लबबाट ३ महिला र १० पुरुष सहभागी छन्।
बैशाख ९ गते सम्म संचालन हुने प्रतियोगितामा प्याराग्लाइडिङ खेलका दुईवटा इभेन्ट हुनेछन्। टिम इभेन्टतर्फ एक्यूरेसी र टिम क्रस कन्ट्रि तथा इन्डिभिजुअल एक्यूरेसी र इन्डिभिजुअल क्रस कन्ट्री हुने छन्। ६ वटा स्वर्ण पदकका लागि प्रतियोगितमा खेलाडी भिड्ने नेफाका सचिब इन्द्र भण्डारीले बताए।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद राजिब पहारीले प्याराग्लाइडिङ बिनाको पोखरा अब कल्पना समेत गर्न नसकिने बताए। उनले भने–‘नेपाल अब हिमाल र बुद्ध जन्मिएको देशले मात्रै चिनिने छैन प्याराग्लाइडिङ खेलाडी उत्पादन हुने देशका नामले पनि चिनिने छ।’
कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जिबी पोखरेलले पोखराको प्याराग्लाइडिङ अब व्यवसायमा मात्रै सीमित नरही शाहसिक खेल पर्यटनको गन्तब्य बनाउन उल्लेख्य योगदान प्रदान गरेको बताए।
नेफाका अध्यक्ष रुपनारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा खेलका मिट डाइरेक्टर अजय कुमार शर्मा, नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष एवम प्याराग्लाईडिङका लागि नेपालका मुख्य प्रशिक्षक योगश भट्टराई,नेफाका उपाध्यक्ष एवम प्राधिकारिक संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण भण्डारी लगायतले आ–आफ्ना धारणा राखेका थिए ।
प्रतियोगिताबाट रेङकिङको आधारमा महिला ८ र पुरुष १६ जना खेलाडीलाई राष्ट्रिय खेलाडीको रुपमा घोषणा गर्ने तयारी गरिरहेको नेफाले जनाएको छ। टिम इभेन्टतर्फ एक्यूरेसी र टिम क्रस कन्ट्रि तथा इन्डिभिजुअल एक्यूरेसी र इन्डिभिजुअल क्रस कन्ट्रीतर्फ घोषणा गरिने ती खेलाडीले नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)का लागि छनौट समेत गरिने छ।
पुरुष १६ जना बाट १३ औं सागका लागि ‘वेष्ट अफ दि बेष्ट’ रेङकिङका आधारमा ८ जना छानिने छन् भने महिला ८ जना बाट सोही अनुसार ‘वेष्ट अफ दि बेष्ट’ रेङकिङमा ५ जना अन्तिम छनौटमा पर्नेछन्।