हेटौँडाको वन विज्ञान अध्ययन संस्थाको चौरमा अाजबाट दोस्रो भूगर्व सिमेन्ट सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल सुरु भएको छ ।
गोल्ड कपको उद्घाटन गर्दै ३ नं प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरले फुटकल खेलमा प्रगति गर्दै गएकोमा खुसी व्यक्त गरे । राष्ट्रिय तहका प्रतियोगिताहरु निरन्तर व्यवस्थापन गर्न सकेको भन्दै उनले बिगतमा आफ्नै जिल्लाका खेलाडीको नेतृत्वमा अखिल नेपाल फुटबल संघ रहेपनि मकवानपुरलाई छायाँमा पार्ने काम भएको सुनाए ।
‘जसरी मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीबाट हटाएर हेटौँडा ल्याउने र भीमफेदीलाई विकासको मूलप्रबाहबाट रोक्ने काम भएको थियो त्यस्तै गरी मकवानपुरलाई एन्फामा रहनेहरुले बेवास्ता गरेको पाइन्छ’, मुख्यमन्त्री पौडेलले भने–‘फुटबलको विकासका लागि प्रदेश सरकारले ध्यान दिन्छ ।’
उनले हेटौँडाको हुप्रचौरमा सानो प्याराफिटसहितको रंगशाला निर्माणमा प्रदेश सरकारले तदारुकता देखाएको बताए । हेटौँडा उपमहानगरपालिका र प्रदेश सरकार मिलेर सानो प्याराफिटसहितका रंगशाला निर्माण गर्ने उनले सुनाए । त्यसैगरी हेटौँडाको गौरीटारमा निर्माणाधीन खेलकुद प्रतिष्ठानमा अन्तर्राष्ट्रिय रंगशालाको रुपमा परिणत हुने उनले सुनाए ।
कार्यक्रममा ३ नं प्रदेश संसदका प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बाँनिया, हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, शिक्षासेवी पुरनबहादुर जोशी लगाएतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रम मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाको अध्यक्षतामा भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा मकवानपुर–११ र मच्छिन्द्र क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
१० वटा फुटबल टिमको सहभागिता रहेको प्रतियोगितामा प्रतियोगितामा आयोजक, एक विदेशी र आठवटा नेपालका चर्चित ‘ए’ डिभिजन क्लबको सहभागिता रहनेछ । आयोजक, दाफिन्स र थ्रीस्टार, आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, मच्छिन्द्र, हिमालयन शेर्पा, सरस्वती र च्यासल युथ क्लब सहभागी हुने जिल्ला फुटबल संघले जनाएको छ विजेता तथा उपविजेताले नगद क्रमशः आठलाख रुपियाँ र चारलाख रुपियाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडीलाई ७५ हजार रुपियाँ र विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही २०/२० हजार रुपियाँको व्यवस्था गरिएको आयोजक समितिका अध्यक्ष टीकाराम लामाले जानकारी दिए । प्रतियोगितामा करिब ८५ लाख खर्च अनुमान आयोजकले गरेको छ ।