‘मृत्यु एउटा सुनको साँचो हो,जसले अमरता नामक महलको ढोका खोलिदिन्छ।’
‘कायर व्यक्तिहरु आफ्नो मृत्युभन्दा पहिले कयौं पटक मर्छन्, तर शूरवीरहरु मृत्युको स्वाद केवल एकपटक मात्र चाख्छन्।’– शेक्सपियर
अपार शान्तिको सागरमा विश्राम प्राप्त गर्ने सुअवसर हो मृत्यु। जीवनको परिपक्व फल हो मृत्यु। व्यक्त र अव्यक्तबीचको महापर्व हो मृत्यु। नवजीवनको आरम्भ हो मृत्यु। संक्षेपमा मंगलमय र आनन्ददायी हुन्छ मृत्यु। वास्तवमा मृत्यु र जीवनको आनन्दसँगै प्राप्त हुन्छ। महर्षी वाल्मीकिले भनेका छन्–
सहैव मृत्युर्व्रजति सह मृत्युर्निषीदति।
गत्वा सुदीर्घनष्वानं सह मृत्यु निवर्ततें।।
मृत्यु र जीवन सँगै हिड्छन्, साथै रहन्छन् र सुदूरवर्ती पथमा पनि साथमै जान्छन् र सँगै फर्कन्छन्।
जीवनको अत्यन्त आवश्यकीय अंग भएर पनि मृत्युलाई हामी अधिकांश भुल्छौं। मृत्यु जीवनको एक स्वाभाविक र नियमित घटना हो। मृत्युसँग हामी भयभीत हुन्छौं। त्यसको कल्पना मात्रले पनि हामीभित्र डर उत्पन्न हुन्छ। साक्षात् मृत्यु आउँदा मान्छेहरु रुन्छन् कराउँछन्, भयभीत हुन्छन्।
अधिकांश व्यक्तिको मृत्यु यसरी हुन्छ, जसले मृत्यु चाहेकै हँुदैन। जसलाई मृत्युसँग त्रास उत्पन्न हुन्छ। मृत्युको अवसरमा कष्टानुभूति गर्छ। गीतामा पढेकै हो, जीर्ण वस्त्र उतारेर नयाँ वस्त्र फेर्नु जस्तै हो मृत्यु। मृत्यु शास्वत सत्य हो। सबैलाई थाहा छ, तर सहजै स्वीकार्न कसैले चाहँदैन। पुरानो लुगा फेर्दा कसैलाई कष्ट हुन्छ र? नहुनु पर्ने हो। आखिर किन?
विचारक मेरीबेल भन्छन्, ‘यसको एउटै मात्र कारण छ, हामीले आफूलाई चिन्ने प्रयास कहिल्यै गरेनौं। म को हुँ? किन धर्तीमा मेरो अवतरण भयो? त्यसतर्फ हामीले कहिले सोचेनौं।’ जीवनको व्यापारमा यति व्यस्त भयौं कि हामीसँग मृत्यु पनि सँगै छ भन्ने हामीले बिस्र्यौं।
हाम्रो मनमा कहिल्यै पनि मृत्युको कल्पना सहजरुपमा आएन। आखिर जसलाई एक न एक दिन हामीले स्पर्श गर्नु नै छ।
सुकरात भन्छन्, ‘मृत्युबारे हरहमेशा प्रसन्न रहनु पर्छ।’
मृत्यु प्रसन्न भएर आनन्द मनाउने एउटा अवसर हो। तर, यसरी हामीले कहिल्यै पनि सोचेनौं। सोच्ने प्रयास पनि गरेनौं। अन्य कुराहरुको तयारी जस्तै आजसम्म मृत्युको तयारी कसले पो ग¥यो होला र? मिल्टनका शब्दमा ‘मृत्यु एउटा सुनको साँचो हो, जसले अमरता नामक महलको ढोका खोलिदिन्छ।’ यो सत्य हो जसले साँच्चै मृत्यु चिनेको हुन्छ, उसलाई मृत्यु भयङ्कर लाग्दैन।
वस्तुतः मृत्यु नयाँ जन्मको तयारी गर्ने अवसर हो भने जीवन मृत्युको तयारी गर्ने अवसर हो। त्यसैले यसलाई सहजै स्वीकार्न सिक्नु पर्दछ। जीवन भनेको त मृत्युसम्म पुग्ने मार्ग रहेछ। हामी मात्र जीवन व्यापारमा लाग्छौं, त्यो पनि निजी संग्रहका लागि।
पृथ्वीका करोडौँ प्राणीमध्ये हामी मानव मात्र निजी संग्रहमा समय व्यतित गर्छौं। हाम्रो प्रत्येक कार्य यस्ता छन्, लाग्छ हामी हजारौं वर्ष यही रहनु छ। हाम्रा दशौं पुस्तासम्मलाई धनी बनाउने जिम्मा हामीले नै लिएका छौं। मृत्युलाई चिन्न नसक्नुकै कारण संसारमा भ्रष्टाचार, अनियमितता, लोभ, पाप, व्यभिचार बढ्ने गरेको हो। मृत्युलाई सहजै जान्न सकेको भए, त्यसलाई भगवानको निमन्त्रणा मानी उत्साहपुर्वक चाडवाडको रुपमा स्वीकाथ्र्यो होला मान्छेले।
सुकरातले, मर्ने समय नजिक आउँदा अमृत तत्वको स्वाद लिइरहेको अनुभव बताउँदै आफ्ना शिष्यहरुलाई हाँसी खुशी मृत्युको अर्थ सम्झाई रहेका थिए। सन्त तुकारामले जब मृत्यु नजिक आएको महशुस गरे, तब सबैलाई जानकारी गराउँदै भजन कीर्तन गाउन थाले र मृत्युको काखमा निदाए।
गेटेले ‘अत्याधिक प्रकाश ! अत्याधिक प्रकाश !!’ भनी खुशी प्रकट गर्दै बिदा भए।
महात्मा बुद्धले ‘आत्मन्दीयको अर्थ’ बताउँदै मृत्युसँग साक्षात्कार गरे।
मृत्युसँग डराउनेहरु जन्म मरणलाई बन्धन सम्झँदै त्यसबाट उम्कन मोक्ष प्राप्त गर्ने कुरा गर्छन्। वास्तवमा मृत्युको रहस्य जानिन्थ्यो भने मोक्ष होइन जीवन र मृत्युको रमाईलो खेल खेल्न पटक–पटक पुनर्जन्म लिएर धर्तीमा आइरहने प्रयास गर्दो हो मान्छे। महात्मा बुद्धले मृत्युको नजिकै पुग्दा भनेको यो वाक्यले यस्तै संकेत गर्दछ, ‘मलाई निर्वाण मोक्ष चाहिँदैन, म त पटक–पटक जन्म लिन पाउँ, दिन–दुःखीको सेवाका लागि।’ हाम्रा सन्त ऋषि–महर्षीहरु मृत्युलाई आनन्दको पर्व मान्थे। शान्तिको अपार सागरमा पौडने शुभ साइत सम्झन्थे।
मृत्युको क्षण नै जीवनको परीक्षाको समय हो। यस समयमा थाहा हुन्छ कि व्यक्तिले पछिल्लो समय कसरी व्यतित गरेको थियो? जो मर्ने समयमा रुँदै हात खुट्टा फालेर छटपटाउँछ, उसले सारा जीवन रुँदै, कल्पदैं, यताउता हेर्दै मृग मरीचिकाजस्तै भाग–दौड़ गर्दै जीवनकाल बिताएको बुझिन्छ। जो मृत्युको समयमा हाँस्छ, जसको मुहारमा शान्ति प्रशन्नता आनन्दको रेखा स्पष्ट देखिन्छ उसको जीवन सफल मानिन्छ। हामीले सुनेका छौं, धेरै महापुरुषको मृत्यु अलौकिक हुन्छ। त्यस क्षण उनीहरुमा अपूर्व उमङ्ग र उत्साहमय जस्तो अनुमान गर्न सकिन्छ। जसरी आफ्ना अत्यन्त आत्मियजनसँग एक्कासी मिलन हुँदा खुशी उत्पन्न हुन्छ, यस्तै मृत्युको समय पनि त्यस्तो क्षण हो, जसमा एउटा आत्मा र परमात्माको अपूर्व मिलन हुँदैछ। आफ्नो आराध्य भगवानसँग मिलन हुने सुअवसर प्राप्त हुँदैछ। यसकारण मृत्युको समयमा पनि भयग्रस्त हुने होइन, आनन्द र उल्लासको वातावरण भएको महशुस गर्न सक्नु पर्दछ। सम्झिदिउँ मृत्यु एक पर्व हो जन्म जस्तै।
लेरी भन्दछन्,‘मृत्युको अवसरमा मनुष्यको स्मृति अत्यन्त स्पष्ट हुन्छ। समय र पक्ष–विपक्षको धुमिल आवरण स्वतः हटछ। त्यस समय जीवनकालको कर्म–घटना, सिनेमाको दृश्यावली जस्तै उसको स्मृति पटलमा आउन थाल्छन्। जीवनमा प्रशस्तै अपराध, पाप, भ्रष्टाचार, दुराचार गरेकाहरु ती कर्म आँखा अघि आउनासाथ छटपटिने, डराउने गर्दछन् भने असल कर्म गर्नेहरुको भने सन्तोष र आनन्दका कारण शान्ति र शौम्यता मुहारमा देखिन्छ।’
मर्ने समय पनि पापीहरुले निकै लामो समय लागेको महशुस गर्छन् । उसले गरेको अपराध, जम्मा गरेको धन सम्पत्तिको उसलाई सम्झना आइदिन्छ। यी वस्तु छोडेर जानु पर्दा उसले निकै कष्ट अनुभव गर्छ। उसले सुन्ने गरेको नरकको कल्पनामा उसलाई चिन्ताले निकै सताउँछ। तर, असल मान्छेहरुलाई कुनै कुराको चिन्ता हुँदैन र ऊ आनन्दपूर्वक भगवानसँग भेट हुने प्रतिक्षाको पर्खाइ मात्रमा रमाइलो कल्पनामा मग्न हुन्छ।
जीवन एउटा नाटक हो भने मृत्यु त्यसको पटाक्षेप मात्र। जीवन एक प्रश्न हो भने मृत्यु यसको उत्तर। जीवन एक दिनभरिको यात्रा हो भने मृत्यु साँझको बास मात्र। जीवन र मृत्यु एउटा सिक्काका दुई पाटा हुन्। हर क्षण दुवै सँगै रहन्छन्। सिक्काको एकापट्टिको भाग देख्दा खुशी हुनु पर्ने र अर्को पट्टिको भाग देख्दा दुःख मान्नु केका लागि? तर, सबैले गौरवपूर्ण मृत्यु भने प्राप्त गर्ने कोशिश भने गरी रहनु पर्दछ सम्पूर्ण जीवनमा।
त्यसैले गौरवपूर्ण मृत्युका लागि आजैदेखि तयारी गरौं। अपराध के हो? पाप के हो? कसैसँग सोध्नु पर्दैन। मान्छे खुशी पार्नुस्, भगवान खुशी पार्नुस्, सबै प्राणीलाई दया गर्नुस्, तपाईँका कारण कोही र केही खुशी हुन्छन् भने त्यो असल कर्म हो। होइन तपाईँका कारण कोही दुःखी हुन्छ, पीडित हुन्छ भने त्यो अपराध हो। तपाईँलाई अर्कोले गर्ने व्यवहारबाट तपाईँ दुःखी हुनुहुन्छ, त्यो अपराध हो। अर्कोले गरेको व्यवहारबाट तपाईँ खुशी र सन्तुष्ट हुनुहुन्छ भने त्यो असल कर्म हो। त्यसैले अरुलाई खुशी बाँडौं। मृत्युलाई गौरवपूर्ण बनाउने जिम्मा तपाईँ हाम्रो आफ्नै हातमा छ।
मुल आधार–अखण्ड ज्योति मासिक १९६४ तथा विभिन्न एजेन्सीको सहयोगमा