जाजरकाेटकाे मछाइनामा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा चट्याङ पर्दा टेलिफोन सेवा अवरुद्ध भएको छ।
चट्याङले तीन दिनअघि मछाइनमा रहेको जिएसएम नमस्ते र स्काइ प्रविधिको टावरमा क्षति पुर्याउँदा जाजरकोट टेलिफोन सेवाबाट बञ्चित भएको हो।मछाइनमा रहेको टावरले नै रुकुमको घेत्मा, जाजरकोट बारेकोट रतनकोट, नलगाड नगरपालिकाको गराइलालगायतका पाँच ठाउँमा रहेका टावरलाई रिले गर्दै आएको छ।
रिपिटर टावरमा परेको चट्याङले त्यहाँ रहेको सोलार व्याट्री, अन्य उपकरणमा क्षति पुगेको नेपाल टेलिकम जाजरकोटका प्रमुख लोकेन्द्र भण्डारीले जानकारी दिए। दुई दिनदेखि प्राविधिक टोली कामका खटिए पनि टावर निर्माणको काम सफल नभएको उनले बताए। शुक्रबार पनि टावरमा आएको समस्या निराकरण गर्न नसके नेपालगञ्जबाट थप जनशक्ति ल्याएर मर्मतकार्य गरिने भण्डारीले बताए।
टावरले काम नगर्दा जिल्ला सदरमुकाम र गाउँगाउँमा रहेका स्थानीय सरकारको सम्पर्क टुटेको छ। मछाइनामा रहेको टावरमा बेलाबेलामा समस्या आउँदा यहाँका हजाराैँ स्थानीयवासीले सास्ती भोग्दै आएका छन्। निजी क्षेत्रका सञ्चार प्रदायक कम्पनीको जाजरकोटका गाउँगाउँमा सेवा विस्तार नहुँदा नेपाल टेलिकमको सेवामा नै भर पर्नु पर्ने बाध्यता रहेको छ। रासस