मकवानपुरको कैलाश गाउँपालिकामा भइरहेको सल्लाको खोटो संकलन तथा निकासी कार्यप्रति गाउँपालिकाले चासो देखाएको छ।
गाउँपालिकासँग समन्वय नगरेर अनाधिकृत रुपमा खोटो संकलन भएको भन्दै गाउँपालिकाले प्रहरीसँग समन्वय गरी एउटा ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। गाउँपालिकामा सूचीकृत नभएरै खोटो संकलनकर्ताले जथाभावी खोटो संकलन गरिरहेको पाइएपछि आइतबार खोटो लोड भएको एउटा ट्रक नियन्त्रणमा लिएर अनुसन्धान थालिएको गाउँपालिकाले जनाएको छ।
ना ५ ख ७७४ नम्बरको ट्रक गाउँपालिकासँगको समन्वयमा भार्ता प्रहरी चौकीले नियन्त्रणमा लिएको हो। कैलाश गाउँपालिका–३ खिर्कीबाट सल्लाको खोटो लोड गरी हेटौँडा जाने तयारी भइरहेको अबस्थामा नियन्त्रणमा लिइएको जनाइएको छ। केही वर्षदेखि कैलाश गाउँपालिकाको वडा नम्बर १, २, ३ र ८ मा नियमित रुपमा खोटो संकलन हुँदै आइरहेको छ।
वातावरणीय प्रभाव मूल्यांकन नगरी जथाभावी रुपमा खोटो संकलन भइरहेकोमा त्यसलाई व्यवस्थित गर्ने तयारी गाउँपालिकाले गरेको अध्यक्ष टंकबहादुर मुक्तानले बताए। उनका अनुसार गाउँपालिकाले गाउँसभाबाट पारित आर्थिक ऐन २०७५ ले खोटो संकलन कार्यको लागि वैैधानिक व्यवस्था गरेको छ।
तर, खोटो संकलक फर्म वा व्यक्तिले सूचीकृतबिनै खोटो संकलन गर्ने गरेको पाइएको छ। आर्थिक ऐन २०७५ को दफा ६ को अनुसूची ५ बमोजिम खोटो तथा जडिबुटीहरु संकलन गर्न पाउने कानूनी व्यवस्था छ। जस अनुसार प्रतिकेजी ५० रुपैयाँ राजश्व गाउँपालिकालाई बुझाउनुपर्ने हुन्छ। तर, हालसम्म कुनै पनि खोटो संकलकले गाउँपालिकामा फर्म सूचीकरण नगरेको र कर समेत नतिरेको पाइएपछि ट्रकसहितको खोटो नियन्त्रणमा लिइएको अध्यक्ष मुक्तानले बताए।
साना साना रुखहरुमा समेत खोटो संकलनका लागि घाउ बनाएर ट्यांकीहरु झुन्ड्याइँदा सल्लाका विरुवाहरुलाई असर परेको भन्दै सो कार्यको स्थानीय स्तरमा समेत विरोध हुँदै आएको छ।