उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुणकुमार नेपालले वनलाई आर्थिक सम्बृद्धिसँग जोडेर लैजानुपर्ने बताएका छन् ।
मकवानपुरको मनहरी गाउँपालिका ७ स्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहको १३ औँ साधारण सभा तथा नवनिर्मित भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुरानै ढंगले वनको उपयोग गर्दा दुःख पाइरहेको बताए । वनबाट उत्पादन हुने बस्तुमा आश्रित रही उद्योग सञ्चालन गर्नुपर्ने भन्दै मन्त्री नेपालले गरिवी निबारणका लागि जंगल मूल आधार भएको बताए ।
कार्यक्रममा सांसद ओमबहादुर घलान प्रदीप, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समिति सभापति गोविन्द रिजाल, मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर तितुङ, नवराज सुवेदी लगायतले वन पैदावारको उपभोगमार्फत जनताको जनजीविकालाई सहज बनाउनुपर्ने बताएका थिए ।
कार्यक्रममा मन्त्री नेपालले पशपति सामुदायि वन उपभोक्ता समूहको नवनिर्मित भवनको उद्घाटन गरेका थिए । समूहले ६३ लाख लगानी गरी भवन निर्माण गरेको थियो । भवनमा अहिले ७ नं वडा कार्यालय, सहकारी कार्यालय तथा युवाहरुका लागि जिमखाना राखेर समूहले सहयोग गरेको अध्यक्ष रघुनाथ रुम्बाले बताए ।