नेपाली इन्जिनियर कीर्तिबहादुर थापा दुई दशकदेखि विश्वका विभिन्न मुलुकमा बसेर काम गर्दै आएका छन्। पछिल्लो समय अफ्रिकी मुलुक युगाण्डामा उनै थापाले डिजाइन गरेको सडकले सिंगो अफ्रिका क्षेत्रमा चर्चा बटुलेको छ।
भारतको कानपुरबाट सिभिल इञ्जिनियरिङमा स्नातकोत्तर इन्जिनियर थापा सन् २०१४ देखि युगान्डामा कार्यरत छन्। युगान्डाका प्रमुख दुई शहर एन्टेबे र राजधानी कम्पाला जोड्ने सो सडक बनाउनका लागि युगाण्डा सरकारले चिनिया कम्पनीलाई ठेक्का दिएको थियो।
तर, परामर्शदातामा परियोजना व्यबस्थापन परिबर्तन भएपछि थापाको टिमले परियोजनाको व्यवस्थापन संहालेको थियो। नेपाल लगायतका १२ देशका इञ्जिनीयरहरु युगान्डाका प्रमुख दुई शहर जोड्ने सो सडक बनाउन लागि परेका थिए। अन्ततः सो सडकको काम समयमै फत्ते पनि गरे। ५२.४ किलोमिटर उक्त सडकको बीच भागमा १.४५ किलोमिटर लामो कलात्मक पुल पनि थापाकै नेतृत्वमा संभब भएको हो।
आफ्नो नेतृत्वमा समयमै सम्पन्न भएको गुणस्तरीय कामको इञ्जिनीयर थापा र उनकाे टिमले युगान्डा सरकार र त्याँहाका जनतामात्र हाेइन, छिमेकी र त्याँहा घुम्न जानेहरूबाट समेत प्रशंसा पाएका छन्। भन्छन् ‘यसबाट काम गर्न थप हौसला मिलेको छ।’ यो सडक युगाण्डाकै पहिलो नम्बरको परियोजना भएको छ।
उनको यो कामको सबैले प्रशंसा गरेका छन्। सोही कामको मूल्यांकन गरेर पछिल्लो समय अफ्रिकामा रेल्वे निर्माणको काम पाएका छन् उनले। त्यसो त यसअघि उनले इथियोपियामा पनि काम गरेका थिए। नयाँ प्रबिधिबाट पुल बनाएको इथियोपियाको अनुभब पनि थियो उनीसंग। बाह्रै महिना हिउँ पर्ने त्यस्तो ठाउँमा काम गर्नु कम्ति चुनौतीपूर्ण थिएन। तर पनि चाइनिज र बृटिश कन्ट्रयाक्टरसंगको सहकार्यमा १३५ किमि बाटो निर्माणको काम उनीहरुले गरेका थिए।
इथियोपियामा काम गर्नु पहिले उनले कतार, दुबई, अबुधावी, बहराइन लगायतका देशमा पनि बरिष्ठ म्यानेजरका रुपमा काम गरेका थिए। उच्च शिक्षा अध्ययनपछि आफ्नै देशमा केही गर्ने सोचका साथ सरकारी सेवामा प्रबेश गरेका थिए उनी। इञ्जिनीयर थापाले ४ बर्ष महाकाली सिंचाईमा पनि काम गरे। नेपालमा काम गर्दाको नमीठो अनुभब छ उनीसंग।
‘गुणस्तरीय काम गर्दा घोक्रेठ्याक खानुपर्छ नेपालमा,’ भन्छन् ‘हामी कसैलाई खुसी बनाउँने नाममा गुणस्तरमा कुनै सम्झौता गर्न सक्दैनौं।’ यसो भनेर हामीले टिकाउ काम गर्न खोजेका हौं। जसबाट अन्ततः लाभान्वित हुने जनता नै हुन्। यसका लागि सरकारसंग काम गर्ने वातावरणमात्र आफूहरुले मागेको उनको भनाई छ।
बिदेशी सरकारले कामको मूल्यांकन गरेर हामीलाई थप जिम्मेवारी दिएको छ। तर स्वदेशमा काम गर्छौं भन्दा हामीलाई सरकारले अबसर दिएको छैन। भन्छन्‘स्वदेशमै काम गर्न पाए भोलिका दिनमा छोरा नातीले पनि सम्झन्थे कि।’
इञ्जिनीयर थापा भन्छन् ‘हामी आफ्नै देशबाट तिरस्कृत भयौं।’ सरकारी जागिरबाट भागेर पलायन हुनका लागि सरकारले बाध्य गराएको उनको निष्कर्ष छ। नेपालमा पनि पछिल्लो समय ठूला ठूला परियोजना संचालन भइरहेका छन्। त्यस्ता परियोजनामा काम गर्न नेपालीहरु पनि उत्तिकै सक्षम छन्। तर पनि सरकारले नेपालीसंग भएको योग्यता र क्षमताको नजरअन्दाज गरेर ती परियोजनामा महंगो शुल्क तिरेर बिदेशी परामर्शदाता भर्ना गरिरहेकोमा उनको गुनासो छ।
बिदेशी परामर्शदातलाई दिने भन्दा कम शुल्कमा काम गर्न थपा जस्ता बिदेशी भूमिमा रहेर काम गरेका नेपाली तयार छन्। तर पनि सरकारले उनीहरुलाई स्वदेशमा सेवा गर्ने अबसर दिन सकेको छैन। उनको एउटै गुनासो छ,देशले हामीजस्ता नेपालीलाई स्वदेशमै काम गर्छौं भन्दा पनि अबसर दिएन। सरकारको यस्तो व्यबहारले निक्कै चित्त दुखेको बताउने थापाका प्रश्न छ, हामीसंग भएको सीपलाई नेपालले उपयोग नगर्ने? इञ्जिनीयर कीर्तिबहादुर थापा भन्छन् ‘नेपालमा मेरो बाँच्ने सहारा छैन।’