मकवानपुरको राक्सिराङ गाउँपालिका-३ औलेकी गंगामाया चेपाङले १२ वर्षकै उमेरमा छोरी जन्माएकी छिन्। काठमाडौं थापाथलीस्थित प्रसुति गृहमा उनले बुधवार सवा तीन बजे छोरी जन्माएकी हुन्।
कम उमेर भएकाले शारीरिक अंगहरुको विकास पूरै नभएको भन्दै शल्यक्रिया गरी शिशु निकालिएको हो। ‘अपरेसन सफल भयो, भान्जी जन्मेको छ भन्ने जानकारी आयो’, गंगाकी दाई एकराजले भने। १२ वर्षमै गर्भवती भएको समाचार स्पेसखबर डटकमले पहिलोपटक गत असोज २७ गते प्रकाशन गरेको थियो।
त्यसपछि विभिन्न सञ्चारमाध्यमहरुमा समाचार प्रकाशन भएपछि प्रधानमन्त्री कार्यालयले जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत गंगालाई काठमाडौंको थापाथलीस्थित प्रसुति गृह लगेको थियो। एक महिना अघिदेखि गंगा र उनकी आमा काठमाडौं रहँदै आएका थिए। २ किलो ९ सय ग्रामको शिशुको र आमा गंगामायाको स्वास्थ्य अवस्था सामान्य रहेको एकराजले जानकारी दिए।
राक्सिराङ-३ पलाँसेस्थित सूर्याेदय माविमा कक्षा ४ मा पढ्दै गर्दा मामा घर जाने क्रममा कैलाश गाउँपालिकाको भार्ताका रञ्जितसँग उनको प्रेम बसेको थियो। प्रेमसम्बन्ध भएको चार महिनामै भागी विवाह गरेकी गंगा आउँदो २२ भदौमा १३ वर्ष पूरा हुनेछिन्।