गत फागुनमा सुर्खेतकाे वीरेन्द्रनगरलाई कर्णाली प्रदेशको राजधानी घोषणा गरिएपछि पर्यटकलाई लक्षित गर्दै सुविधासम्पन्न होटल खुल्ने क्रम बढेको छ । करोडौंका लागतमा पर्यटक र अर्गानिक खानालाई प्राथमिकता दिएर सुविधासम्पन्न होटल खुल्ने क्रम बढेको हो ।
कर्णाली प्रदेशमा मुलुकको सवैभन्दा ठूलो ताल मुगुको रारा, गहिरो ताल डोल्पाको से फोक्सुण्डो, दोस्रो लुम्बिनीको रुपमा परिचित सुर्खेतको काँक्रेविहार, खस भाषाको उत्पतिस्थल जुम्लाको सिंजा, पंचकोशीजस्ता महत्वपूर्ण पर्यटकीय स्थल हुनुका साथै कैलास मानसरोबर भएर जाने बाटोपनि यही प्रदेशबाट भएकोले त्यस्ता पर्यटकहरुलाई लक्षित गर्दै होटल स्थापना गर्ने क्रम बढ्दै गएको छ ।
त्यसका साथै कर्णाली प्रदेश सरकारले अर्गानिक प्रदेश बनाउने घोषणाले व्यवसायीहरुमा पनि अर्गानिक खानालाई आप्mनो प्राथमिकतामा राखेका छन् । सुर्खेतमा जतिपनि नयाँ र सुविधासम्पन्न होटलहरु स्थापना भएका छन्, ती सवैले अर्गानिक खानालाई ग्राहक तान्ने अस्त्र बनाएका छन् ।
गत असार महिनामा ६ करोड बढीको लागतमा सुर्खेतको नगरकोट भनेर चिनिने गढीमा युवा व्यवसायी तर्कबहादुर शाहीले होटल स्टे भ्यालीभ्यू संचालनमा ल्याए । पर्यटकहरुलाई नै लक्षित गरेर आफूले ६ करोड बढीको लागतमा सदरमुकाम वीरेन्द्रनगरदेखि ९ किमी उत्तरतर्फ सुविधासम्पन्न होटल संचालनमा ल्याएको उनले बताए । विगतमा सुविधासम्पन्न होटलहरु नहुँदा पर्यटकहरु बास बस्न नेपालगन्ज पुगेको स्मरण गर्दै ती पर्यटकहरुलाई सुर्खेतमै बस्ने सुविधाहरु उपलव्ध गराइएको दावी उनले गरे ।
यसैगरी झण्डै पौने चार करोडको लागतमा युवा व्यवसायी जनकसिंह ठकुरीले बुलबुले उद्यानको आडैमा बुलबुले भ्यू होटल संचालनमा ल्याएका छन् । उनले होटलमा दिइने खानाका आइटमहरु सवै अर्गानिक दिइने दावी गरेका छन् । जुम्लामा उत्पादन हुने मार्सी चामल, फापरको ढिंडो, जुम्लाको सिमी, जुम्लाकै आलु, सिस्नोसहित जुम्ला हुम्लाका भेडा च्यांग्राका मासुहरु आफ्ना ग्राहकहरुलाई दिइने जिकिर संचालक ठकुरीले गरेका छन् ।
उनले पनि पर्यटक र अर्गानिक खानालाई होटल संचालनको मुख्य अस्त्र बनाएका छन् । भिआइपीलगायत मध्यम खाले पर्यटकहरुलाई पनि आफूहरुले प्राथमिकतामा पारेको उनको भनाइ छ । सुविधासम्पन्न होटलहरु स्थापना नहुँदा पर्यटकहरु रातारात बाहिरिने गरेकोले पर्यटकहरुलाई नै मुख्य लक्षित बनाएर होटल संचालनमा ल्याएको ठकुरीले बताए ।
होटल स्टे भ्याली भ्यू र बुलबुले भ्यू मात्र होइन त्यस अघि पनि सुर्खेतमा दुई ठूला सुविधासम्पन्न होटलहरुले पनि पर्यटकहरुलाई नै लक्षित गराएर स्थापना भइसकेका छन् । करिव २८ करोडको लागतमा होटल शुभ र होटल सिद्धार्थले पनि पर्यटक र अर्गानिक खानालाई लक्षित बनाएर संचालन भइसकेका छन् । अहिले यी होटलमा मन्त्रालय तथा विभिन्न संघसंस्थाका कार्यक्रमहरुले भरिभराउ छन् ।
यसका साथै मानसरोबर जाने भारतीय पर्यटकहरुले पनि यी होटलहरु बर्षेनी खचाखच हुने गर्दछन् । मध्यम स्तरका होटलहरुबाट पर्यटकहरु सन्तुष्ट हुन नसकेपछि करोडौंका लागतमा नयाँ सुविधासम्पन्न होटल खुल्ने काम जारी रहनुले व्यवसायिक प्रतिस्पर्धा बढ्नुका साथै पर्यटकहरु पनि लाभान्वित हुने नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाही बताउँछन् ।
होटल शुभका संचालक समेत रहेका अध्यक्ष शाहीले पर्यटनको राम्रो सम्भावना भएको प्रदेश भएकोले पर्यटकहरुलाई लक्षित गरेर होटलहरु संचालनमा ल्याएपछि पर्यटकहरु सन्तुष्ट बनेको दावी गरे । सुविधासम्पन्न होटल स्थापना हुनुले पर्यटन क्षेत्रमा पनि टेवा पुग्ने उनको भनाइ छ ।