कर्णाली प्रदेशमा रहेका बालविकास केन्द्र सञ्चालनमा समस्या देखिएको छ । भौतिक संरचनाको अभाव तथा सरकारी वेवास्ताका कारणले केन्द्र सञ्चालनमा समस्या देखिएको हो ।
कर्णाली प्रदेशमा विद्यालय जान नसक्ने साना बालबालिकाको लागि भन्दै बालविकास केन्द्र खोलिएका छन् । भौगोलिक रुपमा विकट रहेको प्रदेशका जिल्लाका बालकालिकालाई शिक्षा आरम्भ गर्न सहज होस भनेर बालविकास केन्द्र खोलिएका हुन् । साना बालबालिकाको बौद्धिक विकासका लागि भन्दै खोलिएको बालविकास केन्द्र पछिल्लो समय सञ्चालनमा समस्या चुलिदै गएको छ ।
नगर प्रारम्भीक बालविकास सुधार समितीका अध्यक्ष लंका योगीले बालबालिकाको बौद्धिक विकासका लागि आवश्यक शैक्षिक सामाग्री, शुद्ध पिउने पानी, बालमैत्रि भौतिक संरचना नहुनु जस्ता समस्याका कारणले गर्दा नै समस्या चुलिदै गइरहेको बताउँछिन् ।
उनले बालविकास केन्द्रमा बालमैत्री भौतिक संरचना, शैक्षिक पुर्वाधारको व्यावस्था, बालबालिकाको स्वास्थ्य उपचार जस्ता कुनै पनि व्यवस्था नभएको बताइन् । बालबालिकाको विद्यालय जान योग्य बनाउने पहिलो खुड्कीलोका रुपमा रहेका बालविकास केन्द्रहरु नै संचालनमा समस्या आएपछि बालिबालिकालाई विद्यालय आउने बानी कसरी पार्ने भन्ने चुनौती थपिएको उनी बताउँछिन् ।
नेपाल सरकारको मातहतमा सञ्चालन भएका बालविकास केन्द्रमा विगतमा आउने रकम बन्द भएपछि थप आर्थिक समस्या थपिएको छ । कर्णाली प्रदेशमा २ हजार ४ सय ९६ वटा बालविकास केन्द्र सञ्चालनमा रहेका छन् । जसमा ४७ हजार १ सय ८० जना बालवालिका रहेका छन् । बालविकास केन्द्रमा काम गर्दै आएका सेविकालाई पनि केन्द्रमा काम गर्न पनि सहज वातावरण छैन । वीरेन्द्रनगर ६ बालविकास केन्द्रकी सेवीका गोमा गिरीले मासिक रुपमा पारिश्रमिक नपाउने समस्या सँगै पारिवारिक दबावसमेत झेल्नुपर्ने बताउँछिन् ।
नगरपालिका महासंघ कर्णाली प्रदेशका अध्यक्ष रत्न बहादुर खड्काले विद्यालय तहमा अध्ययन सुरु गर्नका लागि तयार बनाउने पहिलो खुड्कीलो नै अव्यवस्थित हुँदा बालबालिकाको पढ्ने बानी विकासमा नै ठूलो समस्या उत्पन्न हुने देखिने गरेको बताए । उनले पढ्ने बानीको विकास गर्ने थलोका रुपमा रहेका बालविकास केन्द्रलाई स्थानीय सरकार र प्रदेश सरकारले व्यवस्थित गर्न जरुरी रहेको बताउँछन् । उनले बालविकास केन्द्रहरु गुणस्तरिय भएमात्रै सरकारले सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने उद्देश्य सफल बन्न सक्ने बताए ।