चुलो छोएकै निहुँमा कालिकोटमा मनवीर सुनारको हत्या भयो। उनले होटलमा चुरोट सल्काउन मात्र खोजेका थिए। स्थानीयले उनीमाथि सामूहिक आक्रमण गरे। उनको ज्यान गयो। यो २०६८ सालको घटना हो।
गत जेठमा नरहरिनाथ गाउँपालिकामा मना सार्कीको हत्या भयो। सार्वजनिक धाराको पानी छोएका कारण उनी मारिइन्। उनी वडा नम्बर ९ की सदस्यसमेत थिइन्। धारा छोएको आरोप लगाएपछि विवाद बढ्यो। मध्यरातमा ४५ वर्षीया मनालाई उपल्ला जातिका मान्छेले कुटपिट गरेर हत्या गरे। कर्णालीमा छुवाछुतकै कारण हत्या भएका यी प्रतिनिधि घटना हुन्। कर्णालीमा दलितमाथि हुने जातीय विभेदका घटना बढिरहेका छन्। जसका कारण मान्छे मारिइरहेका छन्, जिउँदाको जीवन पनि कठिन बनेको छ।
सरकारी तवरबाट छुवाछुतमुक्त अभियानमा लाखौं बजेट खर्च भइरहेको छ। छुवाछुतविरुद्ध दर्जनौं गैरसरकारी संस्था पनि सक्रिय छन्। तर, कर्णालीका अधिकांश स्थानमा दलितमाथि भान्सामा पसेको, चुल्हो र धारा छोएको निहुँमा आक्रमण रोकिएको छैन। अन्तरजातीय विवाह, मन्दिर प्रवेश र विद्यालयमा हुने विभेदका कारण दलित थप हिंसा भोग्न बाध्य छन्। चुला छोएकै निहुँमा सुर्खेतको कुनाथरीमा केही समयपहिले एक बालकमाथि निर्मम कुटपिट भयो। कथित उपल्लो जातिको कुटपिटबाट बालक भीमबहादुर विक गम्भीर घाइते भए।
सुर्खेतकै साटाखानीमा सार्वजनिक धारा छोएको आरोपमा स्थानीय टीकाकुमारी मिजारमाथि निर्घात कुटपिट भयो। अघिल्लो वर्ष असारको घटना हो यो। कथित माथिल्लो जातिको आक्रमणबाट मिजारलाई आफन्तले बल्लतल्ल बचाए। उनले नयाँ जीवन पाइन्।
प्रहरीले जातीय विभेद गरेको भन्दै प्रहरीले मनकुमारी राई र उनका छोरा मनबहादुर राईलाई पक्राउ पनि ग¥यो। तर राजनीतिक दबाबमा यो घटनामा पनि मिलापत्र भयो। पीडितले नै बयान बदलेपछि पीडक हिरासतमुक्त भए। पीडितले कानुनी न्याय पाउने बाटो नै बन्द भयो।
विभेदको चरम नमुना के होला ? त्यो कालिकोटमा देख्न सकिन्छ। यहाँ दलितले जन्ती र मलामी समेत पाउँदैनन्। दलित भने अरुको जन्ती र मलामी जान्छन्। तर कथित उपल्लो जातिका व्यक्तिले पैँचो तिर्न जान्दैनन्। अरु जातिकाले दलितलाई बहिष्कार गर्दै आएका छन्।
‘देशमा परिवर्तन आयो भन्छन्। हामीले चाहिँ थाहा पाएका छैनौँ,’ नरहरिनाथ गाँउपालिका लालुनिवासी रतनसिंह दर्जी भन्छन्, ‘गाउँमा छुवाछुत अहिले पनि उस्तै छ। हामी दलितले त शुभकार्यमा जन्ती र मर्दा मलामी नपाउने अवस्था छ।’ अन्नपूर्ण पाेस्ट दैनिकमा खबर छ।