संसदीय अभ्यासमा छुट्टै पहिचान बनाएका प्रतिनिधि सभा सदस्य बिरोध खतिवडाले आफ्नो खातामा आएको घरभाडा बापतको रकम फिर्ता गर्ने घोषणा गरेका छन् ।
मकवानपुरको २ नं क्षेत्रबाट निर्बाचित सांसद बिरोध खतिवडासहित केही नेताहरुले काठमाडौँमा घर हुँदाहुँदै पनि संसद सचिवालयबाट घरभाडा लिएको समाचार प्रकाशन भएको थियो । त्यसबारे स्पेशखबरसँग प्रतिक्रिया दिँदै उनले भने–‘त्यो रकम आएको पनि थाहा छैन, किन आयो पनि थाहा छैन ।’
काठमाडौँ फर्कनासाथ घर भाडाबापत सरकारले उपलब्ध गराएको रकम फिर्ता गर्ने उनले घोषणा गरे । मकवानपुरको मनहरी गाउँपालिका ६ प्रतापपुरमा तटबन्धन निर्माणबारे चासो व्यक्त गर्दै पुगेको खतिवडाले सरकारी रकम दुरुपयोग हुन नहुने भन्दै आफूले पाएको रकम फिर्ता गर्ने बताएका हुन् ।
संसद सचिवालयले काठमाडौँमा घर नभएका सांसदहरुलाई घरभाडाबापत प्रति महिना १८ हजार रुपियाँ दिनेगरेको छ । काठमाडौँमा घर भएका सांसदहरुका लागि भने मर्मत खर्च भनेर ९ हजार रुपियाँ आउने गरेको छ । ‘संसद सचिवालय सांसदहरुले भरेको व्यक्तिगत बिवरण राम्ररी अध्ययन गर्दा यस्तो समस्या आएको हो’ सांसद खतिवडाले भने–‘रकमको यस्तो प्रकारको दुरुपयोगलाई बैधानिकता दिने काम मबाट हुँदैन ।’