सुर्खेतको वीरेन्द्रनगर ४ स्थित भैरम सामुदायिक वन उपभोक्ता समूह जडिबुटी उत्पादन र पर्यटन विकासमा अग्रसर देखिएको छ।
वीरेन्द्रनगर नगरपालिका– ४ को हाताभित्रको ३०२ हेक्टर क्षेत्रफलमा सामुदायिक वनले जडिबुटी उत्पादन गरिरहेको छ। एक लाख टिम्मुरका विरुवा रोप्ने लक्ष्य लिएकोमा करिव ७० हजार रोपिसकिएको छ। दुई हजार तेजपात, ६ सय च्युरी, २ हजार अम्रिसो, ७ सय बाँस, ३ सय लप्सीका विरुवा रोपिएको छ। यसैगरी, उत्तरी जलाधार क्षेत्रभित्रका सल्लाका रुख हटाउँदै बहुमूल्य विरुवा रोप्ने वन समूहको लक्ष्य छ।
करिव ४ दशकअघि लगाएका सल्लाको उपयोग नदेखिएपछि ती ठाउँमा तेजपात, अमला, अम्रिसो, बाँसजस्ता बहुमूल्य विरुवा लगाउने तयारी भएको वन समूहका अध्यक्ष अम्मरबहादुर कार्कीले बताए। वन समूहले माहुरीपालनतर्फ उपभोक्तालाई आकर्षित गराएको छ। वनले १० गोला माहुरी र ५० वटा घार किसानलाई दिएको छ। आगामी दिनमा थप गोला र घार दिइने योजना छ।
बनले पर्यटन विकासको कामलाई पनि जोड दिएको छ। प्रदेश प्राप्तिको आन्दोलनमा मृत्यु भएका ४ जना शहीदको नाममा स्थापित शहीद पार्क सोही वन क्षेत्रको हाताभित्र छ। शहीद पार्कको विकासका लागि कर्णाली प्रदेश सरकारले दुई करोड रुपैयाँ छुट्याएको छ। पार्कका लागि यसअघि सोही वन समूह र वीरेन्द्रनगर नगरपालिकाले ५ लाखका दरले सहयोग गरेका थिए। जुन रकमबाट गुरुयोजना निर्माण गर्नुका साथै पिक्निक स्पट निर्माण गरिएको छ। साथै, गोठीकाँडादेखि वन क्षेत्रसम्म पैदल मार्ग निर्माण गर्ने समूहको योजना छ।
वन समूहको कामबाट प्रभाबित कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा वन संरक्षणका साथै जडिबुटी उत्पादन र पर्यटन विकासको क्षेत्रमा गरेको काम यो प्रदेशकै नमूना भएको बताउँछन्। यस्ता वनलाई प्रदेश सरकारले सक्दो सहयोग गर्ने उनले प्रतिवद्धता जनाए।
सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य चन्द्रप्रसाद थानीका अनुसारसो वनको बार्षिक आम्दानी करिब एक करोड रुपैयाँ छ ।