कञ्चनपुरको भीमदत्त नगरपालिकामा फोहरबाट ऊर्जा उत्पादन गरिने भएको छ । वैकिल्पक ऊर्जा प्रवद्र्धन केन्द्रसित सहकार्य गरी वायोग्याँस प्लान्ट बनाउन लागिएको हो ।
गत वर्ष भीनपा र केन्द्रबीच सम्झौता भएपछि उक्त केन्द्रको परामर्शदाताले भीमदत्त नगरपालिकाको वडा नम्बर ३, ८, ९ र १८ मा सम्भाव्यता अध्ययन गरेकोे क्षेत्रीय सहरी विकास आयोजनाका वातावरण अधिकृत पदमराज जोशीले जानकारी दिए ।
केन्द्रका वायोग्याँस विशेषज्ञ उत्तम झा नेतृत्वको टोलीले गरेको स्थलगत अवलोकनका क्रममा देखिएका सबै जानकारीका आधारमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिने जनाइएको छ
नगरपालिकामा बढ्दो जनसंख्याको चापको अनुपातमा उत्पादन हुने फोहर व्यवस्थापनका लागि ऊर्जा उत्पादन उपयुक्त विकल्प हुने अपेक्षा गरिएको छ ।
भीमदत्त नगरपालिकाको महेन्द्रनगर बजारसहित विभिन्न स्थानबाट दैनिक पाँच टन फोहर निस्कने गरेको छ ।
यसमा ४० प्रतिशत कुहिने फोहर निस्कने गरेको छ । कुहिने फोहरमा भान्छाको फोहर, सब्जीमण्डीका तरकारी, फलफूल, कागज, काठका टुक्रालगायत छन् ।