केहीदिनअघि मकवानपुरको मनहरी गाउँपालिकामा चोरी भएको भैँसी पर्सा जिल्लाबाट फिर्ता ल्याइएको घटना सेलाउन नपाउँदै पुनः खसीबाख्रा चोरीको घटना सार्बजनिक भएको छ ।
मनहरी गाउँपालिका र हेटौँडा उपमहानगरपालिका क्षेत्रबाट खसीबाख्रा चोरी गरेको आरोपमा नगद रकमसहित मानिसहरु प्रहरीको फन्दामा परेसँगै चोरीको घटना सार्बजनिक भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मनहरी गाउँपालिका ९ खरंगाबाट कुमार तामाङको घरबाट २ वटा खसी चोरी भएको, दारिमटारका सुन्दरलाल श्रेष्ठको घरबाट २ वटा खसी र एउटा पाठी तथा रामकुमार थापाको घरबाट २ वटा खसी चोरी भएको जानकारी प्रहरीलाई आएपछि भएको खोजतलासका क्रममा मानिसहरु पक्राउ परेका हुन् ।
खसीबाख्रा चोरी हेटौँडास्थित खसी बजारमा बेचेर भाग्ने क्रममा बा १५ च ७६८८ नंको बोलेरो जीपमा रहेका दुईजनालाई इलाक प्रहरी कार्यालय मनहरी चेकपोष्टबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेहरुमा रामेछाप जिल्ला गुन्छी गाउँपालिका ८ का बिपिन चौलागाई र चौरी गाउँपालिका ९ का रामशरण गौतम रहेका छन् । उनीहरुको साथबाट ७१ हजार नगद फेला परेको छ । प्रहरीले बोलेरो गाडी, पक्राउ परेका गौतम र चौलागाई तथा खसीबजारबाट बरामद गरिएका ५ वटा खसी र एउटा पाठी सार्बजनिक गरेको छ ।
पक्राउ परेकालाई चोरी मुद्दा लगाइने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।केहीदिनअघि मनहरी ७ र ८ बाट भैँसी चोरी गरी लैजाने पर्सा जिल्ला सखुवा प्रसौनीका एक ब्यक्तिलाई प्रहरीले पक्रेर मुद्दा चलाएको थियो ।