मकवानपुरको राक्सिराङ गाउँपालिका–९ मा रहेको तामाखानी उत्खननका लागि अध्ययन गर्न सरकारले बजेट बिनियोजन गरेको छ।
३ नम्बर प्रदेश सरकारले ४० लाख रुपैयाँ बजेट बिनियोजन गरेको हो। बिनियोजित बजेट चालू आर्थिक वर्षमा कार्यान्वनय गर्न तामाखानीबारे उत्खननको काम गरिने राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए।
उनका अनुसार चार दशकअघि खैराङको महभीरमा रहेको तामाखानीबारे सरकारले अनुसन्धान गरेको थियो। त्यतिखेर हेलिकोप्टरबाट जेनेरेटर तथा अन्य उपकरणहरु खैराङमा ल्याएर अनुसन्धान गरिएको थियो। ‘त्यतिखेर गरिएको अनुसन्धानबाट तामाखानी छ भन्ने पत्ता लगाएको भन्ने सुनेका थियौँ’, अध्यक्ष मल्लले भने,‘त्यतिखेरको कुनै पनि डकुमेन्टहरु अहिले उपलब्ध छैन।’ तामाखानी अध्ययन गरिएको क्षेत्रमा अहिले पनि लामा लामा सुरुङहरु भने देख्न सकिन्छ।
प्रदेश सरकारले तामाखानी उत्खननका लागि अध्ययन गर्न बजेट बिनियोजन गरेपछि पुनः त्यसबारे चर्चा सुरु हुने अपेक्षा राखिएको अध्यक्ष मल्लले बताए। उनका अनुसार खानी भेटिएको खण्डमा सोको उत्खननका लागि स्थानीय तहले पनि सक्दो प्रयत्न गर्नेछ।