खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा शुक्रबार बिहान आगलागी हुँदा करिब तीन करोडको क्षति भएको छ।
शुक्रबार बिहान करिब तीन बजेबाट सुरु भएको आगोले दिक्तेल बजारको रत्नपार्कस्थित अम्बिका बुढाथोकी र कृष्ण श्रेष्ठको घर पूर्ण रुपमा क्षति पुगेको थियो।
प्रहरीका अनुसार बुढाथोकी र श्रेष्ठको एक करोडभन्दा बढी क्षति पुगेको छ भने बुढाथोकीको घरमा होटल तथा कपडा पसल सञ्चालक रमेश खत्रीको ३५ लाख र डेरामा बस्ने अब्दुल अहिम रायमको ६२ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। आगो नियन्त्रणका क्रममा घर भत्काइएका राजु श्रेष्ठको तीन लाख र नवीन गुरुङको तीन लाख बराबरको क्षति भएको प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताए।
नेपाल प्रहरी, सशस्त्र, सेना तथा स्थानीयले आगो निभाएका थिए। आगलागीको कारण खुल्न नसकेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले बताएका छन्।
पीडित कृष्णकुमार श्रेष्ठ र अम्बिका बुढाथोकीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ५० हजारका दरले राहत दिएको छ। जिल्ला विपद् उद्धार तथा व्यवस्थापन समितिले आगलागी पीडितद्वयलाई १५,१५ हजार नगद दिएको छ । त्यस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं–१ ले १० हजारका दरले तथा खोटाङ उद्योग वाणिज्य संघले पनि १० हजारका दरले नगद दिएको छ।
यसैगरी नेपाल रेडक्रस सोसाइटीले भाँडाकुँडा, पाल, कम्बल लगायतका लत्ता कपडा उपलब्ध गराएको छ।