मकवानपुर उद्योग बाणिज्य संघ हेटौँडाले सुविधा सम्पन्न अतिथि आवास गृह निर्माण थालेको छ ।
संघले आफ्नो स्वामित्वमा रहेको पल्पसा सभागृह परिसरमा १५ धुर जग्गामा ५ तल्ले भवन निर्माण गर्न लागेको हो । ३२ कोठा रहेको भवनको सोमबार हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत र मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले संयुक्त रुपमा सिलान्यास गरेका छन् ।
५ करोड लगानीमा अतिथि आवास गृह निर्माण सम्पन्न हुने गरी योजना बनेको छ । संघका सचिव बिष्णुगोपाल महर्जनका अनुसार २ बर्षभित्र अतिथि आवास गृह निर्माण सम्पन्न हुनेछ ।संघलाई कुनै पनि ब्ययभार नपर्ने गरी अतिथि आवासगृह निर्माण हुने दाबी गरिएको छ ।
चन्दादाता र सहयोगीबाट संकलन हुने रकमबाटै भवन निर्माण सम्पन्न हुने गरी काम अघि बढेको संघका अध्यक्ष कटुवालले बताए । अतिथि आवास भवन निर्माण कार्य महत्वकाँक्षी भएपनि पूरा गरेरै छाड्ने उनले बताए ।
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका पदाधिकारीहरु, पूर्व अध्यक्षहरु तथा व्यवसायीहरुको सहभागिता रहेको थियो ।