स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालय र बिभिन्न बिभागहरुमा आकस्मिक अनुगमन गरेका छन्।
मबार बिहान साढे नौ बजे मन्त्रालय पुगेका मन्त्री बस्नेतले आफ्नै मन्त्रालयमा समयमा कर्मचारी आए नआएको समेत अनुगमन गरेका हुन्। त्यस क्रममा सचिवदेखि अधिकांश कर्मचारी समयमा नै कार्यालय नपुगेको पाइएको छ।
समयमा नै कर्मचारी कार्यालय नपुगेपछि मन्त्री बस्नेतले फोन गरेर जानकारी लिएका थिए। मन्त्रालयभित्रै आकस्मिक अनुगमन गरेपछि उनी टेकुस्थित स्वास्थ्य सेवा बिभाग पुगेर आकस्मिक अनुगमन गरेका थिए।
बिभागमा पनि समयमा नै कर्मचारी नपुगेको जानकारी पाएपछि मन्त्री बस्नेतले मन्त्रालयमा जानकारी गराउन निर्देशन दिएका थिए। उनले राम्रा कामको सुरुवात आफैबाट गर्नुपर्ने भन्दै मान्यताका साथ अघि बढेको भन्दै मातहतका कार्यालयमा पनि सुधारको काम गर्ने प्रतिबद्धता जनाए।
उनले समयमा नै कार्यालय पुग्ने कतव्र्य राष्ट्रसेवक कर्मचारीहरुको भएकाले यस बिषयलाई कडाईका साथ लागू गर्ने उल्लेख गरे। सर्ने र नसर्ने रोगको अवस्थामा टेकु अस्पतालको ल्याव र प्रशासनले गरेको कामको पनि आफुले जानकारी लिएको भन्दै मन्त्री बस्नेतले अस्पतालको पूर्वाधारलाई पूर्ण बनाउन आफुले पहल गर्ने जिकिर गरे। उनले बिभिन्न महामारी फैलने बेला भएकाले रोगको प्रकृतिको अध्ययन भइरहेको अवस्थामा ठोस निष्कर्ष निस्कने गरी काम गर्नुपर्ने बताए।