संखुवासभाको भोटखोला गाउँपालिका–४ सिप्ररुङको हम्बरेडाँडामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परी घाइते भएका एकजनाको उपचारका लागि जिल्ला अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको छ। घाइते थप एक जनालाई उपचारका लागि काठमाडौँ लगिएको छ ।
गम्भीर घाइते स्थानीय भविन गुरुङको उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।
विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शङ्करलाई सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए।
शुक्रबार दिउँसो १ बजेर १० मिनेटमा भोटखोला गाउँपालिका–४ हटिया, सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकप्टर दुर्घटना भएको थियो। दुर्घटनामा क्याप्टेन सुरेन्द्र पौडेल, खोज उद्धारकर्ता छिरिङ भोटे, सहयोगी मनोज थापा, विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शङ्कर गम्भीर घाइते भएका थिए।
घाइते क्याप्टेनसहित तीन जनाको ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। घाइते शङ्करको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि यस अघिनै सिम्रिक एयरको अर्को हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौँ लगिएको छ।
हेलिकप्टरले आयोजनास्थलमा परीक्षण गरिएको माटो, ढुङ्गा तथा कङ्क्रिटलगायत सामान लिएर अवतरण गर्ने क्रममा दुर्घटना भएको हो। निर्माणाधीन एक हजार ६१ मेगावाटको अपर अरुणको सामान ढुवानीको क्रममा सिम्रिक एयरको हेलिकप्टर बिहीबार भोटखोला पुगेको थियो।