आत्मदाहको प्रयास गर्ने प्रेमप्रसाद आचार्यको उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको हो । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गराइरहेका उनकाे आज विहान मृत्यु भएकाे अस्पतालका प्लाष्टिक सर्जरी विभाग प्रमुख किरण नकर्मीले जानकारी दिए ।
इलामका ३६ वर्षीय आचार्यले मंगलबार नयाँबानेश्वरस्थित संसद् भवन अगाडि आत्मदाहको प्रयास गरेका थिए । उनले आत्मदाह गर्नु भन्दा केही समय अगाडि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै व्यापार व्यवसायमा असफल भएपछि आफूले आत्मदाह गर्ने निर्यणमा पुगेको उल्लेख गरेका थिए ।
आफैमाथि पेट्रोल छर्किएर आत्मदाह गर्ने प्रयास गरेका उनको ८० प्रतिशत शरीर जलेको थियो ।आत्मदाहको प्रयासपछि उनलाई प्रहरीले उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पुर्याएकाे थियो ।
यसैबीच प्रहरीले बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्न अपिल गरेको छ ।पछिल्लो समय खुला रुपमा पेट्रोलियम पदार्थ बिक्री वितरण भएको पाइएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले कारबाहीको चेतावनीसमेत दिएको छ ।