प्रहरीले यान्त्रिक अवस्था ठीक नभएका सवारी साधनमाथिको जाँच अभियानलाई तीव्र पारेको छ । चाडबाड नजिकिँदै गर्दा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले टोली नै खटाएर अभियान तीव्र पारेको हो ।
ललितपुरको सातदोबाटोमा आज गरिएको विशेष यान्त्रिक जाँचका क्रममा अवस्था ठीक नभएका बस, टेम्पो, ट्याङकरलगायतका २५ सवारी साधनलाई कारबाही गरिएको र १४ गाडीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उक्त अभियानमा तालिम प्राप्त प्राविधिकसहितको टोली परिचालन गरिएको थियो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले नियन्त्रणमा लिइएका १४ सवारी साधनलाई आवश्यक कारबाहीका लागि यातायात व्यवस्था विभाग पठाइने जानकारी दिए ।
अवस्था ठीक नभएको सवारी साधन चलाउँदा सवारी दुर्घटना हुने र यात्रुको जीवन जोखिममा पर्ने भएकाले सम्भावित जोखिम कम गर्न अभियान सुरु गरिएको उनले बताए। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक अनिलकुमार उप्रेतीको कमान्डमा ट्राफिक प्रहरीको टोली आज ललितपुरको सातदोबाटो क्षेत्रमा खटिएको थियो । गएको भदौ १५ गतेदेखि प्रहरीले अभियानकै रुपमा कारबाही अभियान थालेको थियो ।