मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा आज दिउँसो सवारी दुर्घटना हुँदा त्यसमा परेर सात जनाको मृत्यु भएको छ ।
काठमाडौँबाट हेटौँडा जाँदै गरेको बा३ख ७८५८ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा श्रेष्ठले जानकारी दिए।
उहाँका अनुसार मृत्यु हुनेहरुमा तीन महिला, दुई पुरुष र दुई बालबालिका रहेका छन् । दुर्घटनामा परेर छ जनाको घटनास्थलमा र एकको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । दुर्घटनामा परेर मृत्यु भएकाको हाल पहिचान खुल्न सकेको छैन ।
उक्त बसमा ३५ जना सवार थिए । अन्य घाइतेलाई उपचारका लागि हेटौँडा अस्पतालतर्फ ल्याइएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमसहितको टोली पुगेको छ । उक्त घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
उता, रुकुमपूर्वको भूमे गाउँपालिका–३ क्याङ्सी बगरमा भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । काठमाडौँबाट रुकुमकोट आउँदै गरेको ग१ख ९१०९ नम्बरको बस आज दुर्घटना हुँदा घटनास्थलमा पाँचको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए।
मृतकको सनाखत हुन बाँकी रहेको बताउँदै उनले उक्त बसमा सवार १७ मध्ये १३ जना घाइते भएका र तीनको अवस्था गम्भीर रहेको बताए । घाइते सबैको रुकुमपूर्व अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक डाँगीले बताए ।