भक्तपुरमा यस वर्षको गाईजात्रा पर्व आज बिहानैदेखि सुरु भएको छ । कोरोना भाइरसको महामारीका कारण विगत दुई वर्षसम्म औपचारिकतामा मात्रै सीमित गाईजात्रा पर्व यस वर्ष भने भव्यरुपमा मनाइँदै छ ।
तलेजुस्थानबाट भक्तपुरका नगरवासीले तलेजुको ताहामचा बनाई भक्तपुर परिक्रमा गराएपछि सातदिनसम्म मनाइने यस वर्षको गाईजात्रा पर्व आजदेखि सुरु भएको छ । दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व भक्तपुरमा आज बिहानैदेखि मनाउन थालिएको छ ।
भक्तपुरको नेवार समुदायमा मृतकका परिवारले आज बिहानैदेखि गाईजात्रा निकालेका छन् । बिहानैदेखि जिउँदो गाई, कुमारी कन्या तथा माटोको गाई निर्माण गरी टोलटोल घुमाइएको छ । भक्तपुरको गाईजात्राको प्रमुख आकर्षण भनेको घिन्ताङकिसी नाच, माक प्याख नाच भएकाले गाईजात्रा हेर्न उपत्यकालगायत विभिन्न क्षेत्रका नागरिक यहाँ आउने गर्दछन् । आजको मुख्य जात्रापछि यहाँ सात दिनसम्म घिन्ताङकिसी नाच र व्यङ्ग्य प्रदर्शन गरी पर्व मनाइने परम्परा छ ।
टोलटोलबाट एकसाथ आकर्षक घिन्ताङकिसी नाचसहित गाईजात्रा निकाल्ने एवं बिभिन्न नाँच एवं व्यङ्य प्रर्दशन गरिने भएकाले मध्याह्नपछि जात्रा आकर्षक हुने गर्दछ ।