रौतहट जिल्लाको दुर्गाभगवती गाउँपालिका वडा नं २ भलोहियास्थित सुदेव चौकबाट गंगापिप्रा तर्फ जाने सडक खण्डमा गत असार २९ गते राति ट्याक्टरको ठक्करबाट ७० बर्षीय किशोरकुमार ठाकुर बाहुनको मृत्यु भएको घटनापछि परिवारजनले गरेको जाहेरी प्रहरीको मिलेमतोमा हेरफेर गर्ने षड्यन्त्र भएको छ।
गर्मीको समयमा ठाकुर दम्पत्ति घरबाहिर बसिरहेका बेला माधवनारायण नगरपालिका ७ फलवरियाका श्यामकिशोर दासले चलाएको ना ३ त ५३७० नंबरको ट्याक्टरले ठक्कर दिएको थियो। घाइते भएका ठाकुरलाई लगत्तै उपचारका लागि स्थानीय शिबदर्शन अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
लाइसेन्स नभएको चालक दासले तीब्रगतिमा जथाभावी ट्याक्टर चलाउँदा दुर्घटना भएको हो। चालक दासलाई पक्राउ गरी कानुन बमोजिम दण्ड सजाय गरिपाउँ भनी मृतककी श्रीमति अन्नपूर्णा देवीले प्रहरीमा निवेदन दर्ता गराएकी छन्।
चालक दासलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। मृतककी श्रीमतिले क्षतिपूर्तिको सहित प्रहरीमा जाहेरी गरेकी छन्। तर हेरफेर गर्नका लागि स्थानीयले दबाब दिएपछि कानुन बमोजिम न्याय पाउँ भनी पीडित परिवारले माग गरेको छ।