वरिष्ठ अधिवक्ता विष्णु भुसालले सगरमाथाको सफल आरोहण गरेका छन् ।
६२ वर्षीय भुसाल आज विहान (जेठ २) ७.३० मा सगरमाथाको चुचुरोमा पुग्न सफल भएका हुन् । भुसालको आरोहणको व्यवस्थापन गरेको हिमालयन सेपर्डका अनुसार सगरमाथाको सफल आरोहण गर्ने उनी पहिलो अधिवक्ता हुन् ।
विश्व समुदायसँग कार्बन उत्सर्जन कम गर्न अपिल गर्दै उनले सगरमाथा आरोहण गरे । नेपाल बार एसोसिएसनको लोगो अंकित झण्डा सहित उनी वैशाख २ मा सगरमाथा आरोहणमा गएका थिए ।
अमेरिकाबाट वातावरणीय तथा प्राकृतिक स्रोत सम्बन्धी कानुनमा स्नातकोत्तर भुसालले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूमा कानुनविद्को रुपमा कार्य गर्दै आएका छन् । अर्घाखाँची स्थायी घर भएका भुसाल हाल श्रीमती राधा, छोरी डाक्टर प्रीति र छोरा रोशन सहित राजधानीको बाँसबारीमा बस्दै आएका छन् । भुसालकी छोरी डा प्रीतिले चार दिन अघि मात्र सगरमाथाको सफल आरोहण गरेकी थिइन् । छोरा रोशन अहिले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सिभिल इन्जिनियरिङमा विद्यावारिधी गर्दैछन् ।