प्रदेश नं ७ को सरकारले प्रदेशका विभिन्न स्थानबाट छुट्ने लामो दूरीका रात्रि बसमा अनिवार्य दुई जना चालकको व्यवस्था गर्न यातायात व्यवसायीलाई निर्देशन दिएको छ ।
प्रदेशमा यातायात व्यवस्थापनको जिम्मेवारी बोकेको भौतिक पूर्वाधार विकास मन्त्रालयले बुधबार यातायात व्यवसायीलाई मन्त्रालयमा बोलाएर सो निर्देशन दिएको मन्त्रालयका सचिव इन्द्रदेव भट्टले जानकारी दिए।
उनले २०० किलोमिटरभन्दा लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा दुई चालक अनिवार्य हुनुपर्ने व्यवस्था गरिएकाले सोही अनुरुप गर्न व्यवसायीलाई निर्देशन दिइएको बताए ।
भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले दशैँ आइरहेकाले यो समयमा यात्रुको चाप बढी हुने गरेकाले यात्रीको सुरक्षालाई ध्यानमा राखेर मन्त्रालयले नियमनमा कडाइ गर्न लागेको बताए । गाडीको क्षमताभन्दा बढी यात्री नराख्न तथा यात्रु बोक्ने गाडीमा व्यापारिक प्रयोजनका सामान नबोक्न पनि यातायात व्यवसायीलाई आग्रह गरिएको मन्त्री बोहराले बताए ।