लमजुङमा ८ वर्षीया बालिकाको जवर्जस्तीकरणीको मुद्दालाई ९ लाख रुपैयाँमा मिलाउन पीडित परिवारमाथि दवाव शुरु भएको छ।
बेसीशहर नगरपालिका वडा नं. ८ का ३५ वर्षीय राज दनाईमाथि गत असोज १९ गते एक बालिकालाई जवर्जस्तीकरणीको आरोप लगाइएको थियो। सोहि आरोपमा प्रहरीले दनाईलाई पक्राउ गरी जिल्ला अदालतमा मुद्धा दर्ता गरेको थियो। तर, अहिले यस विषयलाई घरमै मिलाउनुपर्ने भन्दै स्थानीय अगुवासहित दनाई परिवारका व्यक्तिहरुले नै पीडित परिवारलाई दवाव दिएका हुन्।
पीडित बालिका र उनका अभिभावकलाई यहि पुस ७ गते बकपत्र गर्नका लागि जिल्ला अदालतले बोलाइएको थियो। तर, सोहि दिन बिहान पीडित बालिकाको घरमै पुगेका करणी आरोपित दनाईका बुवा रेशमबहादुर दनाई, ठुलो बुवा भुपाल बहादुर दनाई र स्थानीय अगुवाहरुले नै पीडित परिवारलाई रकम दिएर मिल्न दवाव दिएका हुन्।
यता, पीडित बालिकाका परिवार भने, आरोपित दनाईको परिवार र बेसीशहरका केही स्थानीय अगुवाहरुले आफूलाई लोपलालच र डर धम्की देखाई घटनालाई मिलापत्रमा टुंग्याउन पटक–पटक दवाव दिएको बताउँदै आएका छन्।
‘हामीलाई आर्थिक प्रलोभन देखाएर निकै दवाव दिइरहेका छन्,’ पीडित बालिकाका बावुले भने, ‘कहिले धम्की स्वरुप दवाव दिन्छन् त कहिले मोटो रकममा मुद्धा किनारा लाउने प्रलोवन देखाउँछन्।’ उनले थपे, ‘हामीलाई न्याय चाहिएको हो, पैसा हैन।’ पटक–पटकको दवावपछि बालिकाका आमा–बुवा दवाव होइन न्यायका लागि पहल गरिदिन आग्रह गरेका छन्।
घट्ना भएको के थियो ?
गत असोज १९ गते साँझ करिब ६ बजे बेसीशहरको एक खाजा घरमा ७ बर्षीया बालिकालाई बेसीशहर नपा– ८ दनाईफाँटका ३५ बर्षीय राज दनाईले जवर्जस्तीकरणी गर्ने प्रयास गरेको देखेपछि आरोपमा बालिकाको आमा र घरबेटीले छिमेकी र प्रहरी बोलाएका थिए। प्रहरीले घट्नास्थलबाटै स्थानीय छरछिमेकीको सहयोगमा आरोपित दनाईलाई नियन्त्रणमा लिएको थियो। त्यस लगतै सोही स्थानका करिब ३०,३५ जना स्थानीयले बालिका जवर्जस्तीकरणी गर्नेलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालय परिसरमा नाराबाजी समेत गरेका थिए।
पीडित परिवारले जवर्जस्तीकरणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा दनाई विरुद्ध किटानी जाहेरी दिएका थिए। पीडित परिवारको जाहेरीका आधारमा बालिकाको मेडिकल चेकजाँच गरी अनुसन्धान प्रक्रिया प्रहरीले अघि बढाएको थियो। मेडिकल रिपोर्टमा बालिकाको यौनाङ्गाको वरिपरि चोट देखिएको थियो।
किन गएनन् बकपत्र गर्न पीडित अदालत?
जिल्ला अदालत लमजुङले पीडित बालिका र उनका परिवारलाई पुस ७ गते बकपत्र गर्न बोलाए पनि उनीहरु अदालतमा उपस्थित भएनन्। करणी आरोपित दनाईका परिवारले पटक–पटक मिलापत्र गर्न दबाव दिदैँ आएको पीडित परिवार बताउँछन्। बकपत्र गर्ने जिल्ला अदालतले बोलाएको थाहा भएपछि आरोपित दनाईका परिवारले विभिन्न लोपलालच र डर धम्की देखाई बकपत्र गर्न नजान दबाव दिएपछि हामी अदालत जान नसकेको पीडित परिवारको एक सदस्यले बताए।
बकपत्र गर्न अदालतले बोलाएकै दिन आरोपित दनाईका बुवा रेशम बहादुर दनाई, ठुलो बुवा भुपाल बहादुर दनाईले पिडित परिवारलाई ९ लाख रुपैयाँ दिएर बकपत्र गर्नका लागि अदालत जान रोकेको थियो। रकम लेनदेनको विषयमा भने पीडित परिवार र आरोपित परिवार दुवै पक्षले स्वीकार गरेका छन्।
आरोपित दनाईलाई पुर्पक्षका लागि जिल्ला कारागार चलन गरिएको छ। अदालतले बकपत्रका लागि पीडित पक्षलाई बोलाएको दिनमा उपस्थित नभएको जिल्ला न्यायधिवक्ता जीवनिधि पौडेलले बताए। उनले भने ‘यस्तो जघन्य अपराधमा दुवै पक्षको सहमति भए पनि मिलापत्र हुनै सक्दैन।’ बकपत्र गर्न पीडित पक्ष अहिले नआए पनि फेरी बोलाउने र यदि आएनन् भने पनि प्रहरी लगाएरै भए पनि उपस्थित गराउने उनले बताए।