चितवन र पर्सा राष्ट्रिय निकुञ्ज आजदेखि राष्ट्रिय बाघ सर्वेक्षण (गणना) सुरू गरिएकाे छ । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज सहित र आसपासका वन क्षेत्रमा बाघ पाइन्छ ।
चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर सर्वेक्षण गरिँदै छ । देशैभरको सर्वेक्षणको शुभारम्भ चितवन राष्ट्रिय निकुञ्जको सौराहामा आज विशेष कार्यक्रमका बीच सुरु गर्न लागिएको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक डा रामचन्द्र कँडेलका अनुसार यही मङ्सिर २९ गतेबाट बर्दिया र बाँकेलाई समेटेर एउटा ब्लक बनाएर सर्वेक्षण गरिँदै छ । यहाँको टोलीले पहिलो दुई साता काम गरेपछि शुक्लाफाँटा र लालझाडी क्षेत्रमा सर्वेक्षण गर्ने छ ।
उनका अनुसार बाघ गणना सम्पन्न गर्न करिब रु चार करोड खर्च हुने अनुमान गरिएको छ । गणकको सुरक्षाका लागि विशेष ध्यान दिइएको उनले बताए। उनीहरुको प्रतिव्यक्ति रु १० लाखको बिमा गरिएको छ भने सुरक्षाका लागि निकुञ्ज सुरक्षार्थ नेपाली सेनासँगै रहने गरी व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
सुरक्षित ठाउँ छनोट गरी क्याम्प खडा गर्न लगाइएको छ । तालिमका समयमा कसरी सुरक्षित भई काम गर्ने भन्ने विषयमा समेत विषेश प्रशिक्षण दिइएको छ । महानिर्देशक कँडेलका अनुसार वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवसहितका उच्च अधिकारीहरूको उपस्थितिमा सर्वेक्षणको शुभारम्भ गरिँदै छ ।
सो अवसरमा वनसचिव डा पेमनारायण कँडेल, वन मन्त्रालयअन्तर्गत विभिन्न विभागका महानिर्देशक, बागमती प्रदेशका वनसचिव, मन्त्रालयका महाशाखा प्रमुख, साझेदार संस्थाका अधिकारीहरूको उपस्थितिमा कार्यक्रमको शुभारम्भ गरिने उनले जानकारी दिए । बाघ गणना सुरु हुनुअघि दुई दिन गणनामा सहभागी हुनेहरूलाई तालिम दिइएको थियो ।
चितवन राष्ट्रिय निकुञ्जमा मात्र १२० प्राविधिक र सहयोगीहरुसँगै केही हात्ती गणनामा परिचालन हुनेछन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार गणकहरू निकुञ्जभित्र आफ्नो कार्यक्षेत्रमा क्याम्प खडा गर्ने काम सुरु गरेका छन् ।
कतिपय स्थानमा शनिबार क्याम्प खडा गरेर प्राविधिकहरु बसेका छन् भने कतिपय अहिले बिहान जाँदैछन् । १६ स्थानमा क्याम्प खडा गरेर प्राविधिकले आजबाट गणना थाल्ने उहाँले जानकारी दिए ।