मित्रराष्ट्र चीन सरकारको सहयोगमा पुनःनिर्माण भइरहेको विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको नौतले दरबारको कामले विसं २०७६ चैतपछि गति लिनसकेको छैन ।
चीनले भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्ने क्रममा नौतले दरबारका लागि सहयोग गरेको थियो । सन् २०२२ मा सक्नेगरी सम्झौता भएको नौतले दरबार पुनःनिर्माण कोरोना सुरु हुनुअघि नै ८० प्रतिशत काम सकिएको पुनःनिर्माणमा प्राविधिक सहयोग गरिरहेको पुरातत्व विभागले जनाएको छ । पुनःनिर्माणका क्रममा परम्परागत सामग्री उपलब्ध गराउने तथा सुपरिवेक्षणको भूमिका पनि विभागलाई नै दिइएको छ ।
हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनाल विसं २०७६ चैतअघि नै चिनियाँ नयाँवर्ष मनाउन गएका कामदार कोरोना महामारीका कारण आउन नपाएपछि काममा अवरोध भएको स्वीकार्नुहुन्छ । कोरोना सुरु हुनुअघि नै ८० प्रतिशत काम सकिएको नौतले दरबार पुनःनिर्माणको भौतिक प्रगति अहिले ८५ प्रतिशत रहेको उनले सुनाए।
पछिल्लो समय कोरोना जोखिम कम हुँदै गए पनि नेपाल चीनबीचको उडान नखुलेका कारण कामदार आउन पाएका छैनन् । कामदार आउन नपाए पनि यहाँ गर्न सकिने काम भइरहेको दरबार हेरचाह अड्डाले जनाएको छ । विभागका महानिर्देशक दामोदर गौतम कोरोना सुरु हुनुअघि दातृ राष्ट्रले गरिरहेका काममध्येमा उत्कृष्ट काम छिटोगतिमा भइरहेको बताउँछन् । समय अझै बाँकी रहेकाले तोकिएको समयमा काम सम्पन्न गरी दुई देशबीचको सम्बन्धमा थप प्रगाढता आउने उनले सुनाए । विश्व सम्पदा क्षेत्र भएकाले दरबारको पुरानो स्वरुपलाई नबिगारी क्षतिग्रस्त भागको प्रवलीकरण एवं संरक्षणको काम भइरहेको छ ।
करिब रु १६ करोड लागतमा दरबार पुनःनिर्माण भइरहेको हो । दरबार पुननिर्माणका लागि विसं २०७४ साउन ३२ गते शिलान्यास गरिएको थियो ।