सडक दुर्घटनामा परी नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद बञ्जाडे (टङ्कमणि) को ५५ वर्षको उमेरमा आज निधन भएको छ । दाङबाट बुटवल फर्कँदै गर्दा गएराति करिब ९ बजेतिर पूर्वबाट पश्चिम आउँदै गरेको ना ७ ख ९०६ नं को बसले बञ्जाडे सवार लु २६प ५८९८ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते बञ्जाडेको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचारका क्रममा आज बिहान ६ बजे निधन भएको माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जिसीले जानकारी दिए ।
दाङमा घाइते तथा अपाङ्गताको बैठकमा सहभागी भएर फर्कँदै गर्दा घर नजिकै बुटवल जीतगढीमा उनी दुर्घटनामा परेका हुन् । माओवादीको सशस्त्र द्वन्द्वदेखि नै भूमिगत राजनीतिमा लाग्नुभएका बञ्जाडेको पार्थिव शरीरमा माओवादी केन्द्रका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलगायतका नेताले निवासमा पुगेर श्रद्धाञ्जलि दिए।नेता बञ्जाडेको आजै तिलोत्तमास्थित मगरघाटमा संस्कार गर्ने कार्यक्रम छ ।