रौतहटमा गएराति भएकाे कार दुर्घटनामा ४ भारतीय नागरिकको मृत्यु भएको छ । रौतहटको चन्द्रनिगाहपुरबाट सदरमुकाम गौर जाँदै गरेको कार यमुनामाई गाउँपालिकास्थित झुन्खुन्वा चोकनजिक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो ।
राति करिब सवा १० बजेको समयमा यू.के.१२ सी २९०० नम्बरको भारतीय कार झुन्खुवा चौकदेखि उत्तरपट्टि रहेको पेट्रोलपम्प नजिक तीव्र गतिमा आइरहेको बेला अनियन्त्रित भई सडकपेटीभन्दा करिब २० मिटर तल पानीमा डुबेको थियो ।
त्यसपछि कारभित्र रहेका चारै जना बाहिर निस्कन पाएनन् । कारको सबै भाग पानीमा डुबेपछि भित्रका मानिसहरु निसास्सिएर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
उनीहरुको सनाखात हुन सकेको छैन।मृतक चारै जनाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा राखिएको छ । दुर्घटनाग्रस्त कारलाई क्रेनको सहायताले राति नै पानीबाट निकालिएकाे छ ।