नेपालमा प्रयोग भएका काेराेनाविरूद्धका सबै खोप गर्भवतीले लगाउन मिल्ने बताइएकाे छ ।कतिपय गर्भवती महिला समेत खोपले गर्भमा रहेको शिशुलाई असर गर्छ भन्ने गलत मनसायका साथ खोप लगाउन नगएको देखिएपछि सरकारले यस्ताे बताएकाे हाे।
अहिलेसम्म नेपालमा उपलब्ध कोरोना भाईरसविरुद्धको खोप १८ वर्षमाथिका नागरिकले लगाउन मिल्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कतिपय खोपले नकारात्मक असर गर्छ भन्ने गलत मानसिकताका कारण खोप लगाउन नगएको देखिएको छ ।
नेपालमा उपलब्ध भएका सबै कम्पनीका खोपहरु गर्भवती महिलाले पनि लगाउन मिल्ने स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा.सागर दाहालले बताए । गर्भवती महिला कोरोनाविरुद्धको खोप लगाउन डराएको केही सूचनाहरु आएकाले ढुक्क भएर खोप लगाउन उनको आग्रह छ ।
हामीकहाँ उपलब्ध सबै प्रकारका खोप गर्भवती महिलाले पनि लगाउन मिल्ने अन्तराष्ट्रिय स्तरबाटै प्रमाणित भएको छ यसकारण सबै गर्भवती महिलालाई ढुक्क भएर खोप लगाउन मेरो आग्रह छ” उनले भने ।मन्त्रालयले सबै जिल्लाहरुबाट कति गर्भवती महिलाले कोरोना विरुद्धको खोप लगाए भन्ने तथ्याङ्क संकलन गर्ने कार्य गरिरहेकाे छ ।