नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बाढीपहिरो पीडितलाई तत्काल राहतको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन्।
तीन दिनदेखिको ।अबिरल बर्षाका कारण देशका बिभिन्न भागमा भएको जनधनको क्षतिप्रति ध्यानाकर्षण गराउँदै उपसभापति निधिले बुधबार प्रेस विज्ञिप्त जारी गरेर बाढीपहिरो पीडितलाई तत्काल राहतको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका हुन्
बाढीको कारण जोखिममा परेका व्यक्तिहरुलाई तत्काल सुरक्षित ठाउँमा स्थानान्तरण गर्दै राहत र क्षतिपूर्तिको व्यवस्था मिलाउनुपन पनि उनले आग्रह गरेका छन्। बिपतको घडीमा प्रदेश र स्थानीय सरकारहरुलाई आ–आफ्नो ठाउँबाट उद्धार र राहतमा जुट्न पनि उपसभापति निधिले आग्रह गरेका छन्।
‘बालीनाली भित्र्याउने समयमा भारी वर्षा भएपछि देशभरका किसान मर्कामा परेका छन्। खेतबारीमा काटेको धान पानीमा डुब्दा ठूलो मात्रामा अन्नबाली नष्ट भएको छ। यसबाट कृषि प्रधान मुलुकका किसानको मेहनत लगानी जोखिममा परेको छ,’ निधिले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘यसले भोलिका दिनमा भोकमरीको खतरा बढाएको छ। बालीनालीमा भएको नोक्सानीको अध्ययन गरी पीडित किसानलाई राहतको व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराउँदछु।’
निधिले देशभरका कांग्रेसका नेता–कार्यकर्ताहरुलाई पनि बाढीपहिरो पीडितको उद्धारमा जुट्न आह्वान गरेका छन्।
‘बाढीपहिरोले खासगरी पश्चिम नेपालका धेरैजसो सडक अवरुद्ध हुनुका साथै भौतिक संरचना ध्वस्त बनेका छन्। यसैगरी विद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा सर्वसाधारण मर्कामा परेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘अवरुद्ध सडक, विद्युत् र सञ्चार सेवा तत्काल संचालनको व्यबस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराउँछु।’