बझाङमा पहिरोमा पुरिएर २४ जना बेपत्ता भएका छन् । सोमबार रातिको वर्षाले पहिरो जाँदा थलारा गाउँपालिका ४ का २४ जना बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा गगने सार्कीका एकै परिवारका १८ जना र नरे पार्कीको परिवारका ६ जना रहेका छन् । गगने सार्की रोजगारीका लागि भारतमा छन् । पहिरोले ७ घर पुरेको प्रहरीले जनाएको छ ।
पहिरोका कारण तल्लो डिक्ला र माथिल्लो डिक्ला गाउँका स्थानीय त्रिभुवन मावि महेन्द्रधारमा अस्थायी रुपमा आश्रय लिइरहेका छन् । पूरा गाउँ पहिरोको जोखिममा परेको छ।
पहिरो पीडितको उद्वारमा खटिएको प्रहरी टोली डिक्ला पुगे पनि पहिरो खसिरहेका कारण उद्धार हुन नसकेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बताए । मंगलबार राति पनि यस्तै पानी पर्यो भने थप क्षति हुने जनाइएकाे छ।