गएको असारमा भारी वर्षापछि मेलम्ची खोला गेग्य्रान बोकेर उर्लंदा तहसनहस भएको मेलम्ची र हेलम्बु क्षेत्रका बासिन्दाले पुरिएका गेगर खोतलेर आफ्ना बास खोजेका छन् ।
पुरिए पनि कतिपय सग्लै रहेका ती पुरानै थातथलो उनीहरु फर्कन थालेका छन् । अहिले नै बस्न मिल्ने अवस्था नरहेको विज्ञको रायका बाबजुद बाढी प्रभावितले आफ्नै प्रयासमा बगर खोतलेर घरको पुनःनिर्माण गरी बस्न थालेका हुन् । केहीले त घरमा बस्न पनि थालिसकेको छन् भने केहीले बगर खोतलेर घरको तल्लो तला खोज्ने कार्य जारी राखेका छन् ।
अस्थायी टहरामा कति समय बस्ने भनेर घर खोजेर आएको उनीहरुको प्रतिक्रिया छ । जाने ठाउँ नै कहीँ नभएपछि बस्न लायक होस् या नहोस्, त्यही घरका बिग्रे भत्केका संरचना निर्माण गरेर आएका हुन् । प्रशासनिक निकायले भने अहिले नै बस्ने बेला नभएको बताउँदै आएका छन् । यहाँका घर बस्न लायक छन् कि छैनन् भनेर अझै अध्ययन नहुँदै स्थानीय भने आफ्नो बासमा फर्किएका हुन् ।
टहराको बास कष्टकर हुनु पनि मुख्य समस्या हो जाडो सुरु हुन लागेकाले थप समस्या पर्ने भन्दै घर नभएकाले भने स्थायी बासको माग गरिरहेका छन् । मेलम्ची नगरपालिकाकी मैयाँ दुलालको घर पनि दुई तला पुरिएको थियो । मजदुर र स्काभेटर लगाएर झण्डै एक महिनाको प्रयासमा उनले पनि घरको तल्लो सतह फेला पारेपछि अहिले पुनःनिर्माण जारी राखेका छन् । अघिले हप्ताबाट उनी घरको माथिल्लो तलामा बस्न थालेका छन् । अहिले पनि तल्लो तलाको निर्माणको काम जारी रहेको दुलालले सुनाए।
“मर्मतमा मात्रै पाँच/सात लाख रुपैयाँ खर्च भइसक्यो, अझै कति खर्च हुने हो थाहा छैन”, उनले भने, “त्रासका बीच बस्न बाध्य छौँ ।” उनका घरकोे सटर पुरै बिग्रिएको थियो । भित्री भाग पनि कतिपय क्षतविक्षत भएका छन् भने गाह्रो चर्किएको थियो । झ्यालढोका पुरै फुटेका थिए । “के गर्नु अन्त जाउँ ठाउँ छैन, जस्तोसुकै भए पनि बस्नै प¥यो, खोला आए पनि कहाँ जानु, त्यही भएर आफैँले पुनःनिर्माण गरेर बसेको”, उनले सुनाए ।
दुई रोपनी खेतसमेत उनको बगाएको छ । त्यहाँका अधिकांशले आफ्नै प्रयासमा घर मर्मत गरिरहेका छन् । इञ्जिनीयरलाई देखाएका छैनन् । घर बस्न लायक छ कि छैन भनेर अध्ययन भएको छैन । घरै नभएका भने अहिले सुकुम्बासी जस्तै बन्न बाध्य छन् ।
दुलालका अनुसार मेलम्चीका रहेका घरका आधाजति मानिस बस्न थालिसकेका छन् । आधा मानिस घर खोतल्दै छन् । धेरैका घर जग्गा बैंकमा राखेको छ । कतिपय ऋणको किस्ता कसरी तिर्ने भनेर चिन्तित छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालका अनुसार प्रारम्भिक आँकडामा नगरक्षेत्रका २४७ घर बाढीले बगाएको छ ।
कूल एक हजार ७०० रोपनीभन्दा बढी जमिन लगेको छ । उहाँले जग्गामा मात्रै तीन अर्ब बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको सुनाए । अझै क्षतिको विवरण आउनेक्रम छ ।