आज विश्व बाघ दिवस । बाघको अस्तित्व जगेर्ना गर्नु मानव समुदायकै दायित्व भन्ने सन्देशका साथ यो दिवस मनाइँदै छ ।
पछिल्लो समय बाघ संरक्षणसँगै नेपालमा बढेको मानवीय क्षति चुनौती बन्दै गएको छ । नेपालमा पछिल्ला वर्ष बाघको सङ्ख्या बढेसँगै बाघको आक्रमणबाट मानिसको ज्यान जाने घटना पनि बढिरहेका छन् ।
गत आर्थिक वर्षमा मात्र बर्दिया राष्ट्रिय निकुञ्ज र आसपास क्षेत्रमा बाघको आक्रमणमा परी करिब एक दर्जन व्यक्तिको मृत्यु भएको बताइएकाे छ । त्यस्तै चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बाघको आक्रमणबाट पाँच जनाको निधन भएको थियो भने पर्सा राष्ट्रिय निकुञ्ज तथा बर्दियामा सवारी दुर्घटनाबाट दुई बाघ मरेको विभागको तथ्याङ्क छ ।
बाघ संरक्षणमा नेपालले उच्चतम सफलता हासिल गरे पनि द्वन्द्व भने समाधान हुन सकेको छैन । सन् २००९ को बाघको गणना गर्दा नेपालमा १२१ वटा बाघ थिए । सन् २०२२ मा त्यो सङ्ख्या बढाएर २५० बनाउने लक्ष्यअनुसार काम भइरहेको छ । फलस्वरूप सन् २०१८ मा भएको गणनामा नेपालमा २३५ बाघ भेटिएका छन् ।