स्थानीयवासीको चर्को विरोधपछि गोकर्णेश्वर नगरपालिकाले पिच गर्न अलकत्रा पकाउँदै आएकाे प्लान्ट बन्द गर्न निर्देशन दिएको छ ।
वडा नं ९ आरुबारीस्थित पानीखोल्सामा निमार्ण गरिएको प्लान्टले वायु प्रदूषण गर्न थालेपछि स्थानीयवासीले चर्को विरोध गर्दै आएका थिए । नगरपालिकासँग कुनै अनुमति नलिइकनै सञ्चालन गरिएको उक्त प्लान्टलाई सात दिनभित्र हटाउन मेयर सन्तोष चालिसेले निर्देशन दिएका छन् ।
शनिबार स्थानीयवासीसँगको छलफलपछि मेयर चालिसेले कुनै पनि हालतमा हटाउने भन्दै भोलि नै पत्र काट्न वडाअध्यक्ष राजिब थापालाई निर्देशन दिँदै आफूले पनि नगरपालिकाबाट पहल गर्ने बताए । चारैतिर हरियाली वातावरण रहेको स्थानमा आएर एकाएक स्वासप्रश्वासमा प्रत्यक्ष असर पुर्याउने प्लान्ट सञ्चालन गरिएकोप्रति सबैजना आश्चर्यमा परेका छन् ।
काठमाडौं उपत्यकाबाट नजिकै रहेको रमणीय यस स्थानमा स्वच्छ वातावरण भएकै कारण टाढा-टाढाबाट मानिसहरु दैनिक साँझविहान धुम्न आउने गर्छन् । सरकारले करोडौं रुपैया खर्च गरेर निमार्ण गरेको शहिद पार्कसँगै जोडिएको छ । यहाँकाे सुन्दरता भनेकै यही पार्क हाे ।
गोकर्णेश्वर र बुढानिलकण्ठ नगरपालिकाको सीमानामा रहेको यो प्लान्टबाट निस्केको धुँवाको मुस्लोले आरुबारी,पैयाँटार,यज्ञडोल र गोर्कणका गरी चार गाउँका स्थानीयवासीलाई प्रत्यक्ष रुपमा असर पुर्याइरहेकोे छ ।
एकातिर कोरोनाले फोक्सोमा असर गरिरहँदा स्वच्छ हावाको खोजीमा रहेका सबैका लागि वायु प्रदूषण गर्ने यो कारखाना घातक भएको छ । उपत्यकाभित्र कतै पनि राख्न नदिएपछि जबरजस्ती यहाँ राखिएको स्थानीयवासीको भनाई छ ।स्रोतका अनुसार प्लाण्ट सञ्चालकहरु मध्यकै जग्गा भएकाले नगरपालिकासँग कुनै समन्वयनै नगरी आफूखुशी प्लाण्ट राखेको हो ।
वडाअध्यक्ष थापाले प्लान्टलाई यहाँबाट उठाउन भोलि नै पत्रकाटिने र जग्गाधनीलाई समेत हस्ताक्षर गराउने बताए । राजनीतिक शक्तिको आडमा खोलिएको आशंका गरिएको यो प्लान्ट कुनै पनि हालतमा सञ्चालन गर्न नदिने पक्षमा स्थानीयवासी रहेका छन्।