चीन सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएकाे चिनियाँ खोप आजबाट लगाइँदैछ ।काठमाडौँ उपत्यकाबाहेकका जिल्लामा खोप लगाउने उमेर समूह संशोधन गर्दै सरकारले चिनियाँ खोप भेरोसेलको पहिलो डोज लगाउन लागेको हो ।
६० देखि ६४ वर्ष उमेर समूहलाई दिइने भनिएको खोप अन्तिम समयमा आएर ६२ देखि ६४ वर्षकालाई मात्रै दिने निर्णय भएको हो ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले सोमबार जारी गरेको सूचनामा उपत्यका बाहिरका जिल्लाहरुमा २५ जेठदेखि शुरु हुने खोप अभियानमा ६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई मात्र लगाउन निर्देशन दिइएको छ ।
तिब्बतसँग जोडिएका जिल्लामा १८ वर्षमाथिका पहिलो डोज लगाउन बाँकीलाई प्राथमिकता दिइनेछ भने सबै हिमाली जिल्लाका ५५ वर्षदेखि ५९ वर्षकालाई खोप दिइने छ ।
काठमाडौं महानगरपालिकाले चिनियाँ खोपको पहिलो डोज लगाउनका लागि ३२ वटा केन्द्र तोकेको छ ।
काठमाडौँ महानगरपालिकाले उमेर अनुसार खाेप तालिका सार्वजनिक गरेकाे छ । जेठ २५ गते ६४ वर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाइने छ । त्यस्तै २६ गते ६३ वर्ष, २७ गते ६२, २८ गते ६१ र २९ गते ६० वर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाइने महानगरपालिकाले जनाएको छ ।