काठमाडौँ महानगरपालिकामा कोरोना परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई पुष्टि भएको छ । गत शनिबारसम्म स्वाव सङ्कलनका लागि पाँच वटा केन्द्र बनाएर काम गरिरहेको कामपाले हरेक दिन सङ्क्रमितको सङ्ख्या बढ्दै गहेकाले आइतबारदेखि १६ वटा परीक्षण स्थल तोकेर परीक्षणलाई तीव्र बनाएको छ ।
कामपाको ३२ वडाबाट मात्रै अहिले हरेक दिन ६०० जनाको परीक्षण हुने गरेको र परीक्षण गरिएकामध्ये ४२० जनामा पुष्टि हुने गरेको कामपा जनस्वास्थ्य महाशाखाले जनाएको छ ।
सङ्क्रमण पुष्टि भएको १४ दिनपछि पुनः परीक्षण गर्नु नपर्ने मान्यता रहे पनि कामपाको हकमा भने १४ दिनपछि निको भएकाहरुले पनि पुनः परीक्षणको माग राख्दै आउने गरेका छन् । अहिलेसम्म कामपाले सबैको निःशुल्क परीक्षण गर्दै आएको छ ।
परीक्षण मात्रै होइन, परीक्षणका क्रममा समस्या बढी भएका बिरामीहरुका लागि एम्बुलेन्समा राखी अस्पतालसम्म लाने र ल्याउने व्यवस्थासम्म कामपाले नै गर्दै आएको छ । यसका लागि पनि नागरिकले पैसा तिर्नु पर्दैन । यसरी कोरोना पोजिटिभ भएका बिरामीका लागि एम्बुलेन्ससँग कामपाले दुई हप्ताअघि नै सम्झौता गरिसकेको छ । कामपाको २३ वडा मध्ये सात स्थानबाट नागरिकले सेवा प्राप्त गर्न सक्नेछन् । कोरोनाका बिरामीले मात्रै होइन, अन्य दीर्घ रोग भएका कसैलाई अस्पतालसम्म जान र आउन परेमा पनि कामपाले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ ।