कपिलवस्तुमा लगाइएकोे निषेधाज्ञा जेष्ठ १० सम्म लम्बिने भएको छ। जिल्ला प्रशासन कार्यालय कपिलबस्तुमा बुधबार बसेको जिल्ला स्तरीय कोरोना नियन्त्रण समन्वय समिति (डिसिसिएसी)ले थप १० दिन लागि निषेधज्ञा कायम गर्ने निर्णय गरेको हो।
कोरोना भाइरसको दोस्रो चरण सुरु भएसंगै जिल्लामा कोरोना संक्रमित थपिनेक्रम बढ्दो छ। मंगलबारसम्मको तथ्याङ्क अनुसार जिल्लामा कोरोनाका संक्रिय संक्रमित १ हजार २४८ छन् भने ९१ जनाको मृत्यु भएको छ।
कपिलवस्तु अस्पतालमा अक्सिजन प्यालन्ट निर्माण गरिने र अबदेखि किनमेलका लागि बिहान ९ बजे देखि दिउसो १ बजे सम्मका लागि दिइएको समयमा समेत सवारी साधनका लागि पास अनिवार्य हुनु पर्ने, कृष्णनगर स्थित भन्सार यार्डमा रहेको २ बिघा बढी जग्गामा नेपाली सेनाको अगुवाईमा होल्डिङ सेन्टर बनाउन दिने, कोरोनाबाट मृत्यु भएकाहरुको शव ब्यवस्थापन कपिलवस्तु नगरपालिकाले गर्ने, मेरी स्टोप्सले कपिलवस्तु नगरपालिकालाई हस्तान्तरण गरेको एम्बुलेन्सलाई शव बाहनको रुपमा प्रयोग गर्ने निर्णय भएको छ। त्यस्तै कपिलवस्तु अस्पतालको खातामा सिधै आर्थिक तथा स्वास्थ्य सामाग्री सहयोग गर्न, सबै पालिकाहरुले एन्टीजेन मार्फत कोरोना परिक्षणको ब्यवस्था गर्नु पर्ने निर्णय गरिएको छ।
यसैबीच, निषेधाज्ञाको अवधिमा हुने कालोबजारी र कृत्रिम अभाव नियन्त्रणका लागि कपिलबस्तुमा बजार अनुगमन गरिएको छ। कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि लगाइएको ‘निषेधाज्ञा’को अवधिमा हुने मूल्य वृद्धि एबं कृत्रिम अभाव नियन्त्रणका लागि बुधबार कपिलबस्तुको तौलिहवा, गोरुसिंगे चन्द्रौटाका औषधी, फलफूल, तरकारी र किराना पसल अनुगमन गरेको हो।
बजार अनुगमनलाई तिब्रता दिएका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए। ‘निषेधाज्ञा’ सुरु भएसँगै कतिपय ठाउँमा मूल्य वृद्धि भएको सर्वसाधारणको गुनासो आइरहेको हुनले बजार अनुगमन गरिएको प्रजिअ पाण्डेले बताए। सुरक्षाकर्मीहरुलाई सादा पोशाकमा पठाएर हेर्ने गरेको र यदि कसैलाई त्यस्तो गरेको पाईएमा ठगी अथवा कलोबजारी सम्बन्धी कानुन बमोजिम कार्वाही हुने उनले बताए।
निषेधाज्ञाको अवधिमा किराना पसलहरुमा अखाद्य बस्तु, म्याद गुजे्रको र गुणस्तरहिन वस्तु नबेचुन भन्ने उद्देश्यले बजार अनुगमन गरिएको खद्या प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख शिव शंकर मिश्रले बताए।