‘सार्वजनिक सम्पत्तिका रूपमा सूचना’ भन्ने मूल नाराका साथ यस वर्षको विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा हरेक मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउने गरिन्छ ।
सन् १९९३ मा युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको वरिष्ठ पत्रकार, पत्रकारिताका प्राध्यापकहरू र स्वतन्त्रताका पक्षपातीहरूको सहभागितामा यो घोषणापत्र जारी गरिएको थियो ।
घोषणापत्रमा प्रेस तथा अभिव्यक्ति स्वन्त्रताको पक्षमा बलियो प्रतिवद्धता जनाइएको थियो भने स्वतन्त्र र बहुलवादी प्रेसका पक्षमा सो सम्मेलनले आफूलाई प्रष्टरूपमा उभ्याएको थियो ।
नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । नेपाल पत्रकार महासंघले भर्चुअल अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । कोरोना संक्रमणका कारण कार्यक्रमको स्वरूप परिवर्तन गरेर भर्चुअल रूपमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको महासंघले जनाएको छ ।