लामो समयपछि भएको वर्षाले देशभर लागेको डढेलोलाई निभाउन मद्दत पुर्याएको छ ।यस वर्ष देशका अधिकांश जंगलमा डढेलो लागेको थियो । डढेलोले गर्दा वातावरण समेत प्रदूषित हुन पुग्यो । यो मौसममा डढेलो लाग्न नौलो कुरा पनि थिए तर यस पटको डढेलो अघिल्ला वर्षहरुको भन्दा ज्यादै धेरै हुँदा वातावरण प्रदूषणको सूचीमा राजधानी काठमाडौं विश्वको १ नम्बरमा उक्लियो,जुन राम्रो होइन भने जंगलमा आश्रय लिएर बस्ने जीव जन्तुको समेत विचल्ली भयो ।
यसले नेपालमा मात्र पाइने जीवन जन्तुको अस्तित्व मेट्ने समेत खतरा उत्पन्न भएको छ । सरकारकै तथ्याङकलाई हेर्ने हो भने पनि देशभर २७७ स्थानमा डढेलो लागेको रेकर्डछ ।डढेलोले गर्दा नै आकाश राम्रोसँग खुल्न सकेको छैन। डढेलोको प्रत्यक्ष असर नेपालको हवाई सेवामा समेत पर्याे । कति दिन उडान समेत हुन सकेन । स्वासप्रश्वास र आँखा पोल्ने समस्या हुन सक्ने देखेर सरकारले चारदिन त विद्यालय बन्दको घोषणा नै गर्याे । यसरी तुवाँलोको कारण सरकारले नै विदाको घोषणा गरेको यो पहिलो पटक हो ।
डढेलो प्रत्येक वर्ष लाग्ने हो यस वर्ष पनि लाग्यो भनेर अब पनि सरकारले बस्नु हुँदैन । डढेलो नियन्त्रणका उपाय अबलम्बन गर्न ढिलो गर्नु हुँदैन । हरियो बन नेपालको धन भन्ने जुन हाम्रो लोकप्रिय नारा छ हामीले समयमै ध्यान पुर्याउन नसकेको खण्डमा त्यो क्षणभर नै खरानी हुन कत्ति पनि बेर लाग्दैन ।पानी परेपछि मौसम सफा त भयो नै त्यो भन्दा बढी किसान खुशी भएका छन् ।पानी परेपछि किसानहरु बाँझो जमिन खनजोत गर्न र मकै छर्न लागेका छन् ।असोजयता पानी नपरेपछि यो वर्ष हिउँदे खेतीमा नराम्रो असर परेको थियो ।